काठमाडौँ– नेपालले एसिसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा थाइल्यान्डलाई २८२ रनको लक्ष्य दिएको छ। मलेसियाको क्लम अमन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८१ रन बनायो।


ADVERTISEMENT


नेपालका लागि अनिल कुमार साहले सर्वाधिक ९१ रन बनाए। सतक बनाउन ९ रनले चुकेका उनले ७४ बलमा ६ चौका र ५ छक्का हिर्काएका थिए। यस्तै प्रनित थापामगरले अर्धशतकीय योगदान गरे। उनले ६१ बल खेलेर ५० रन बनाए। उनले ३ चौका र एक प्रहार गरे।


ADVERTISEMENT

# # #


रोहित पौडेलले २८ रन जोड्दा कप्तान दीपेन्द्रसिंह ऐरीले ३२ बल खेलेर २२ रनमा आउट भए।

ओपनर मोहमद आसिफ शेखले २१ रन बनाए। ९ ‌ओभरको पहिलो बलमा आउट हुनुअघि २६ बल खेलेर २ चौका प्रहार गर्न सफल भए। अर्का ओपनर सन्दीप सुनारले ३२ रनको योगदान गरे। उनले ५७ बलमा ३ चौका प्रहार गरे। सन्दीपले अनिलसँग दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे।

पवन शर्राफ २२ र किशोर महतो २ रनमा अविजित रहे।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले सिंगापुर, भुटान र थाइल्यान्डविरुद्ध खेल्नेछ। समूह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन्।

नेपालको बुधबार भुटानसँग र बिहीबार सिंगापुरसँग खेल हुनेछ। समूहबाट शीर्ष स्थान बनाउने दुई टोलीले यू–१९ एसिया कपमा छनोट हुन पाउनेछन्।