रत्ननगर, चितवन,
१८-असोज / सडकबाट उद्धार गरिएका मानवसेवा आश्रम, चितवनमा आश्रित असहायसँगै सामूहिक दशैँ मनाइएको छ ।
विजया दशमीको चौथो दिन मंगलबार साँझ आश्रमका अभिभावक भेला भएर सामूहिक दशैँ मनाइएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।
सडकबाट उद्धार गरिएका ५२ जना मनोरोगी र सडकबाट उद्धार गरिएका तथा आश्रममै जन्मिएका गरी ३२ जना बालबालिकासँगै मंगलबार सामूहिक दशैँ मनाइएको हो ।
बालबालिका गोरखामा बस्ने गरेपनि दशैँ मनाउन यहाँ आएका थिए । मंगलबार उनीहरुलाई आश्रममा भेला भएका अभिभावकले टीका र जमरा लगाई आशीर्वाद दिएर दशैँ मनाइएको थियो ।
अभिभावकले उनीहरुलाई गच्छेअनुसार दक्षिणासमेत दिएका थिए । आश्रमका अभिभावक कृष्णराज धरेलले यसरी सामूहिक दशैँले भाइचाराको समेत विकास हुने र आश्रममा रहेका लक्ष्मी—नारायण ( महिला तथा पुरुष आश्रित) लाई समेत सकारात्मक प्रेरणा मिल्ने बताउनुभयो ।
यसअघि सोमबार आश्रमले हेटाँैडामा रहेको मुख्य कार्यालयमा यसैगरी सामूहिक दशैँ मनाएको थियो । धार्मिक मान्यताअनुसार कोजाग्रत पूर्णिमासम्म नै दशैँको टीका लगाउने चलन छ ।
मंगलबार भरतपुरमा भएको कार्यक्रममा मानवसेवा आश्रम भौतिक प्रवद्र्धन परिवार, चितवनका संयोजक प्रेमकुमार श्रेष्ठ, आश्रमका अभिभावक महेश्वरी थापा, संगीता भट्टराई, ओमकार कँडेल, गणशेखर शर्मालगायतको सहभागिता रहेको थियो ।
आश्रमको हेटाँैडासहित चितवन, काठमाडौँ, गोरखा, लमजुङ, पर्सा, ललितपुर, बागलुङमा रहेका शाखामा गरी हाल सडकबाट उद्धार गरिएका ३२२ जना असहायले सेवा पाइरहेका छन् ।
उनीहरुलाई देशविदेशमा रहेका नेपालीको सहयोगमा आश्रमले पालनपोषण तथा उपचार गर्दै आएको छ । २०६९ सालमा सेवा शुरु गरेको आश्रमले अहिलेसम्म सडकबाट उद्धार भएका २०० जनालाई परिवारमा पुनःस्थापित गरिसकेको छ ।
विसं २०८२ सम्म नेपाललाई सडक मानवमुक्त देश बनाउने योजना आश्रमको छ ।