विराटनगर– नेपाल पत्रकार महासङ्घ १ नं प्रदेश समितिको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गरिएको छ ।


ADVERTISEMENT


सो भवन प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा प्रदेश समितिले प्रकाशित गरेको ‘मेरो पत्रकारिता’ पुस्तकको पनि विमोचन गरेको छ ।


ADVERTISEMENT

# # #


भवन बनाउन विराटनगर महानगरपालिकाले वडा नं ५ स्थित रु. एक करोडभन्दा बढी मूल्यको जग्गा निःशुल्क उलब्ध गराएको थियो । भवन निर्माण गर्न प्रदेश सरकारले रु. ७६ लाख आर्थिक सहयोग गरेको छ । व्यापारिक उद्देश्यसहितको सो भवन बैठक कक्षसहित दुई तले छ ।

कार्यक्रममा प्रदेश नं १ का ३० वर्षभन्दा बढी पत्रकारिता क्षेत्रमा अनवरत योगदान एवम् क्रियाशील रहने पत्रकार लोकराज ढकाल, गोविन्दचन्द्र क्षेत्री, कृष्ण अधिकारी, कौशल चेम्जोङ, शिव कार्की, यज्ञ शर्मा, कृष्ण हुमागाईँ, लक्ष्मी लुइँटेल, राजबाबु शङ्करलगायत ३० जना पत्रकारलाई सम्मान समेत गरिएको छ ।

सो अवसरमा मुख्यमन्त्री राईले सङ्घीयताको उपहारको रुपमा रहेको यो भवनबाट सञ्चारकर्मीलाई आफ्ना क्षेत्रमा योगदान दिन मद्दत पुग्ने बताएका छन् । उनले संविधान र सङ्घीयताको कार्यान्वयनमा पत्रकारको पनि भूमिका महत्वपूर्ण रहेको भन्दै समृद्धि र विकासको फराकिले यात्रालाई पूरा गर्न सञ्चारकर्मीको अझ भूमिका आवश्यक रहेको उल्लेख गरेका छन् । मुख्यमन्त्री राईले स्थायी शान्ति र सुशासनविना समृद्धि र विकासको यात्रा पूरा गर्न कठिन हुने चर्चा गर्दै महासङ्घलाई राजनीतिक आस्थाको केन्द्र नभई व्यावसायिक तथा पेशागत हितको निम्ति उपयोग गर्न सुझाव समेत दिएका छन् ।

आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले समाजको महत्वपूर्ण अङ्गको रुपमा रहेको पत्रकारिता सत्य र तथ्यको आधारमा चल्नुपर्ने धारणा राखेका थिए । उनले समृद्धि र विकासको यात्रामा पत्रकारिता क्षेत्रलाई कम आँकलन गर्न नहुने भन्दै समाजका चुनौती र समस्यालाई चिरफार गर्न यो क्षेत्रले महत्वपूर्ण योगदान दिइरहेको बताए । उनले पत्रकारिता पेशा राजनीतिक पार्टीको निर्देशन र आदेशअनुसार नभई मुलुकको वास्तविकताको आधारमा चल्नुपर्ने सुझाव दिँदै पत्रकारले पेशागत एकतालाई व्यवस्थित गर्दै जानुपर्नेमा जोड दिएका छन् ।

महासङ्घका केन्द्रीय अध्यक्ष आचार्यले सरकारलाई खबरदारी गर्ने र समाजमा चेतना फैलाउने पत्रकारिता पेशा इमान्दार हुनुपर्ने बताए । उनले यो क्षेत्रलाई राजनीतिक दवावभन्दा बाहिर राख्नुपर्ने सुझाव दिँदै नेतृत्वमा आउने पदाधिकारीले नयाँ एवम् रचनात्मक काम गर्नुपर्नेमा जोड दिएका छन् ।

विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले पत्रकारिता क्षेत्रको विकास र पेशागत हक हितका लागि नवनिर्मित भवन कोशेढुङ्गा हुने भन्दै पत्रकारिताको खोज र अनुसन्धानका लागि यो भवनले धेरै बल प्रदान गर्ने बताए । महासङ्घ प्रदेश–१ समितिका अध्यक्ष विक्रम लुइँटेल र उपाध्यक्ष सोमनाथ सुसेलीले समिति बनेको तीन वर्षको अवधिमा धेरै काम गरेको जानकारी दिँदै भवन बनाउनमा सहयोग गर्ने दातालाई धन्यवाद समेत व्यक्त गरेका छन् । रासस