काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावबारे निर्णय गर्न तय भएको प्रदेशसभा बैठकमा राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सांसद् खिमविक्रम शाही सम्पर्कविहीन भए । सांसद् नै ‘हराए’पछि सांसद् हराएको भन्दै परेको निवेदनको आधारमा बैठक स्थगित भयो ।
त्यसको केही समयपछि हराएका सांसद शाही चरक मेमोरियल अस्पतालमा कोभिड वार्डमा भेटिए । जनमोर्चाले शाही सहित आफ्ना तीन सदस्यले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा मत हाल्ने यसअघि बताएको थियो। बुधवार नै उक्त प्रस्तावबारे अन्तिम निर्णय गर्ने कार्यसूची थियो।
उक्त घटनाको विषयमा ५७ सेकेन्डमै कोभिड रिपोर्ट पोजेटिभ निकालिएको तथ्य सार्वजनिक भएको छ । सिनियर मेडिकल टेक्नोलोजिस्ट सुरज बरालको हस्ताक्षर रहेको गण्डकी प्रदेश स्वास्थ्य प्रयोगशालाको रिपोर्ट कोरोना जाँचको ५७ सेकेन्डमै तयार पारिएको भेटिएको हो । रिपोर्टअनुसार बुधवार साँझ ८ बजेर ५१ मिनेट १४ सेकेन्ड जाँदा शाहीको स्वाब संकलन गरिएकोमा ८ बजेर ५२ मिनेट ११ सेकेन्डमा तयार भएको रिपोर्ट सार्वजनिक भएको हो, जसमा शाहीलाई कोरोना पोजेटिभ पुष्टि गरिएको छ ।
उक्त घटनापछि कोभिड महामारीको संकटग्रस्त समयमा कोभिडलाई नै सत्ता टिकाउने हतियारका रुपमा प्रयोग गरेको भन्दै गण्डकी प्रदेश सरकारको तीव्र आलोचना भइरहेको छ ।
रिपोर्ट