काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल एसेम्बिलिङको अध्ययन शुरु गरेको छ । प्राधिकरणले अन्तरराष्ट्रिय प्रचनल समेतका आधारमा अध्ययन विश्लेषण गरी तयार पारेको पहिलो अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उक्त प्रतिवेदनउपर सुझाव मागेको छ ।


ADVERTISEMENT


गत वर्ष फागुनदेखि नै नेपालमा मोबाइल एसेम्बिलिङका लागि अध्ययन शुरु गरेको प्राधिकरणले एसेम्बिलिङ प्लान्ट स्थापनका लागि करमा गर्नुपर्ने सहजीकरण, उद्योग स्थापना, जनशक्ति, लागत, अहिलेको आयात दर, पछि घट्ने मोबाइल संख्याको मापन, चुनौती तथा उद्योग स्थापना भए वैदेशिक व्यापार घाटामा सन्तुलनबारे अध्ययन शुरु गरेको हो ।


ADVERTISEMENT

# # #


वर्षमै ३७ अर्ब बढीको मोबाइल आयात भएपछि नेपालमै मोबाइल उत्पादनको अवधारणा बहसको सतहमा आएको छ । तथापि, व्यवसायीहरुको भने मोबाइल फोन एसेम्बिलिङप्रति कत्ति पनि आकर्षण देखिदैन । हाल नेपालमा मोबाइल आयात गर्दा १३ प्रतिशत भ्याट र २.५ प्रतिशत एक्साइज अन्तशुल्क कर लाग्ने गरेकोमा एसेम्बिलिङ गर्दा फाइदा हुने देखिदैन । हाल मोबाइल आयातमा भन्सार कर लाग्ने गरेको छैन । जसकारण मोबाइल उत्पादन भन्दा आयात गरेर बेच्दा नै नाफा हुने व्यवसायीहरु बताउँछन् ।

नेपाल मोबाइल फोन आयात संघका अध्यक्ष दीपक मल्होत्राले तत्काल नेपालमा मोबाइल एसेम्बिलिङ सम्भव नभएको बताए । ‘मोबाइल अत्यावश्यक वस्तु भइसकेकाले एसेम्बिलिङ उद्योग स्थापनाका लागि यसमा कर थोपर्न त मिलेन नै,’ उनले भने, ‘पार्टस् आयातमा लाग्ने कर, लगानी, मेसिनरी, जनशक्ति लगायतमा थप लागत लाग्ने भएकाले तत्काल नेपालमा एसेम्बिलिङ उद्योग सम्भव छैन ।’ चीन र भारत ठूलो बजार भएकाले नेपालको सानो बजारमा एसेम्बिलिङ उद्योगका लागि विदेशी लगानी पनि नआउने उनको भनाइ छ ।

तर नेपालमा मोबाइल रिफर्बिसिङ गरेर वार्षिक १० लाख फोन निर्यात गर्न सकिने उनको भनाइ छ । रिफर्बिसिङ भनेको पुराना मोबाइल मर्मत सम्भार गरी नयाँ बनाउनु हो । उनले राज्यले सहजीकरण गरे नेपालमा बिग्रिएर खेर गइरहेका वार्षिक १५ लाख बढी मोबाइल फोन रिफर्बिसिङ गरेर ५ लाख आन्तरिक बजारमा र १० लाख भारत लगायतका बजारमा निर्यात गर्न सकिने उनले बताए ।