काठमाडौँ – शिक्षा तथा समाजसेवी शिवप्रसाद ढकाल ‘सिताराम’ ढकालको जीवनीमा आधारित कृति ‘ज्येष्ठ नागरिक योद्धा सिताराम ढकाल’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उक्त कृतिको लोकार्पण गरेका हुन् ।


ADVERTISEMENT


समाजसेवा र जेष्ठ नागरिकको हक हित र अधिकारको लागि जीवनभर संघर्ष गरेका स्व. ‘सिताराम’को योगदानहरुको स्मृतिमा ‘सिताराम पदमकुमारी फाउण्डेसन’ले उक्त स्मृति ग्रन्थ प्रकाशित गरेको हो । उक्त स्मृति ग्रन्थमा आफन्त र विभिन्न विद्वानहरुले उनको जीवनी व्यक्तित्व, जेष्ठ नागरिक आन्दोलन र योगदान, समाजसेवा समेतका रचनाहरु लेखेका छन् ।


ADVERTISEMENT

# # #


लोकार्पणपछि बोल्दै प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले स्व. सितारामको समाज सेवा र जेष्ठ नागरिकमा गरेको योगदानको चर्चा गर्दै उनको नाममा समाजसेवा गर्ने फाउण्डेसनको स्थापना हुनु र स्मृति ग्रन्थ प्रकाशन गर्नु उदारणीय काम भएको बताए । यस्तै पूर्वमन्त्री एवं साहित्यकार एस.पी. कोईरालाले भोजपुरे माटोमा जन्मिएर समाज सेवा र जेष्ठ नागरिकको हितमा कार्य गर्ने स्व. सितारामको प्रशंसा गरे ।

यस्तै राष्ट्रिय जेष्ठ नागरिक महासंघका निवर्तमान अध्यक्ष मदन दास श्रेष्ठले जेष्ठ नागरिक आन्दोलनमा स्व. सितारामले दिएको योगदानको चर्चा गरे ।

लोकार्पण कार्यक्रममा साहित्यकारहरु डा. विप्लव ढकाल, महेश विक्रम शाह, कुलप्रसाद पराजुली, रमेश पोखरेलले पनि स्व. सितारामको योगदान बारेमा चर्चा गरेका थिए। कार्यक्रममा पूर्वमन्त्री टंक ढकाल, पूर्वराज्यमन्त्री पदम राई, समाजसेवी योङजुङ शेर्पा समेतो उपस्थिति थियो ।

साहित्यकार बिन्दु अधिकारी ढकालले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रमको सभापतित्व फाउण्डेसनका अध्यक्ष विश्वमणी गौतमले गरेका थिए भने कार्यक्रमको संचालन प्रा. एवं साहित्यकार देवी घिमिरेले गरेका थिए।

कार्यक्रममा सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नामेले ‘बा’ कविता वाचन गरेका थिए भने भोजपुरको लोक संस्कृती झल्कने संगिनी र हाक्पारे गीतहरु पानि प्रस्तुत भएका थिए । साथै उक्त कार्यक्रममा जेष्ठ नागरिक ९२ वर्षीय गोपाल प्रजापतिलाई सम्मान समेत गरिएको थियो । स्व. शिवप्रसाद (सिताराम) ढकालका जेष्ठ सुपुत्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिम प्रसाद ढकालले कार्यक्रममा धन्यवाद ज्ञापन गरे ।

गत वर्ष पौष २ गते निधन भएका स्व. शिव प्रसाद (सिताराम)का योगदानहरुलाई निरन्तरता दिँदै समाजसेवा गर्ने उद्देश्ले उनका परिवार, आफन्तजन र शुभेच्छुकले गत वर्ष फागुन ५ गते फाउण्डेसनको स्थापना गरेका थिए ।

फाउण्डेसन स्थापना भएपछि जेष्ठ नागरिकको हित संरक्षण, धर्म, संस्कार, कृषि, स्वास्थ्य, शिक्षा, युवा लगायतका क्षेत्रमा फाउण्डेसनले आफ्नो गतिविधि सञ्चालन गर्दे आएको छ । फाउण्डेसनको केन्द्रीय कार्यालय काठमाडौँको कोटेश्वरमा रहेको छ ।

शिव प्रसाद ढकालका छोराहरू भीम ढकाल, भैरव ढकाल, प्रभु ढकाल रहेका छन् । यस्तै, छोरीहरूमा मञ्जु र सञ्जु रहेका छन् । गंगा प्रसाद ढकालले आफ्नो दाजुका प्रति अर्पन गरेर तयार पारेको निगाल झाप्राका सुसेली नामक पुस्तक समेत विमोचन भएको छ ।