काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार ५०० रुपैयाँले बढेर एक लाख पाँच हजार ५०० रुपैयाँ पुगेको छ ।
केही दिन देखि बढिरहेको सुनको कारोबार मूल्य आज नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार रुपैयाँ तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला रु एक लाख दुई हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४० रुपैयाँले बढेर एक हजार ४५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ५० डलर आसपास कारोबार भइरहेको छ ।