काठमाडौँ– फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको सन् २०१७ का अर्बपतिको सूचीमा नेपालका विनोद चौधरी गत वर्षभन्दा १० स्थान माथि उक्लेका छन्। मंगलबार फोर्ब्सले सार्वजनिक गरेको सूचीमा १.३ अर्ब अमेरिकी डलरका सम्पत्तिका साथ चौधरी १५ सय ६७औं स्थानमा पुगेका हुन्।
गत वर्ष १.१ अर्ब डलर सम्पत्ति भएका चौधरी १५ सय ७७ औं स्थानमा थिए। चौधरी ग्रुपका अध्यक्ष उनको नेपाल भारतलगायत धेरै देशमा उद्योगहरू छन्। उनी सन् २०१३ मा पहिलो पटक फोर्ब्सको अर्बपतिको सूचीमा समावेश भएका थिए। फोर्ब्सको यो सूचीमा पर्ने चौधरी एक्ला नेपाली हुन्।
यसैबीच बिल गेट्स यो वर्ष पनि संसारकै सबैभन्दा धनी मानिस भएका छन्। फोर्ब्सको सूचीमा उनी ८६ अर्ब डलर सम्पत्तिका साथ पहिलो स्थानमा रहेका छन्। अमेरिकाकै अर्का उद्योगी वारेन बफेट सूचीको दोस्रो स्थानमा छन्। उनीसँग ७५.६ अर्ब डलर सम्पत्ति रहेको फोर्ब्सले उल्लेख गरेको छ।
सूचीको तेस्रो नम्बरमा अमेजोन कम्पनीका मालिक जेफ बेजोज छन्। उनको सम्पत्ति ७२.८ अर्ब डलर रहेको छ। फोर्ब्सले हरेक वर्ष संसारका अर्बपतिको सूची निकाल्ने गर्छ।