काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको स्कल्याण्ड सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ । नेदरल्याण्डलाई लगातार दोस्रो खेलमा पनि हराउने क्रममा नेपालले ४ खेलको सिरिजमा ३ जित निकाल्दै टुंग्याएको हो ।
स्कटल्याण्डको डण्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रन बनायो । २३७ रनको मध्यम लक्ष्य पच्छ्याउँदै जवाफी ब्याटिङ गरेको नेदरल्याण्ड्स ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २२० रनमै समेटिएको हो ।
पहिलो इनिङमा ब्याटिङका क्रममा नेपाली ब्याटर बासिर अहमद पीचमा अवैधानिक रुपमा हिंडेपछि नेपालले १० रन पेनाल्टी सजाय पाएको थियो । जसका कारण नेदरल्याण्ड्सको इनिङ पहिलो बल नखेल्दै १० रनबाट सुरु भएको थियो । तै पनि नेपालले जित निकाल्न सफल भएको हो ।
नेदरल्याण्डस्का लागि विल्से वारेसीले ३६ रन बनाए भने कप्तान स्कट इड्वाडर््सले ३० रन बनाए । यस्तै माइकल लेभिटले २७, कायल क्लेनले २५, नोह क्रोसले २२ तथा तेजा नदिमनुरुले १७ रन र भान देर मर्भीले १६ रन जोडे ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेर नन्दन यादवले समान ३–३ विकेट लिए । त्यसक्रममा सन्दीपले १० ओभरमा ३९ रन खर्चिए भने नन्दनले ९ ओभरमा समान ३९ रन नै दिए । यस्तै ललित राजवंशीले २ विकेट लिए । उनले १० ओभरमा १ मेडेन ओभर फाल्दै २९ रन मात्रै खर्चिए । करण केसी र कुशल भुर्तेलका नाममा १–१ विकेट रह्यो ।
यसअघि नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रन बनाए । त्यसक्रममा उनले ८५ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।
यस्तै कप्तान रोहित पौडेल र भीम सार्कीले समान ३५र३५ रन जोडे । यस्तै कुशल भुर्तेलले १८ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी १६ रनमा आउट भए । करण केसी र बासिर अहमदले ११–११ रन जोडे ।
बलिङतर्फ नेदरल्याण्ड्सका पउल भान मीकीरनले ४ विकेट लिए भने माइकल लेभिटका नाममा ३ विकेट रह्यो । यस्तै आर्यान दत्तले १ विकेट हात पारे ।
पहिलो खेलमा स्कटल्याण्डलाई १ विकेटले हराएको नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ५ विकेटले स्तब्ध पारेको थियो । तेस्रो खेलमा भने नेपाल जित नजिक पुगेर पनि २ रनले हार्न पुगेको थियो ।
आजको जितसँगै नेपालले ८ राष्ट्र सम्मिलित लिग–२ मा १६ खेलमध्ये ५ खेलमा जित, ९ खेलमा हार र २ खेल अनिर्णित हुँदा १२ अंकसहित तालिकाको सातौँ स्थानमा रहेको छ ।
यता नेदरल्याण्ड्सले २३ खेलमा १२ जित, ९ हार र २ अनिर्णित हुँदा २६ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने अमेरिका २० खेलमा १४ जित र ६ हारसहित २८ अंकका साथ शीर्ष स्थानमा रहेको छ । यस्तै स्कल्याण्ड १९ खेलमा ११ जित, ६ हार र २ अनिर्णित हुँदा २४ अंकको साथ तेस्रो स्थानमा रहेको छ ।
१६ खेलमा ३ जित हात पारेको युएई ६ अंकका साथ पुछारमा रहेको छ ।