बलेवा– सदरमुकाम बागलुङ बजारदेखि प्रसिद्ध कालभैरव मन्दिर बलेवा जाने सडक कालोपत्रे शुरु भएको छ । बागलुङ नगरपालिका–१३ को काभ्राबोटदेखि जलुकेनीसम्मको साढे तीन किलोमिटर सडक कालोपत्रे सुरु भएको हो ।


ADVERTISEMENT


सडक कालोपत्रे गर्ने कामको सोमबार प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सुरु गरे । नेपाल सरकारको समपुरक अनुदान र बागलुङ नगरपालिकाको साझेदारीमा तीन वर्षअघिदेखि स्तरोन्नति सुरु भएको सडक कालोपत्रे हुने भएको हो ।


ADVERTISEMENT

# # #


तीन किलोमिटर १६१ मिटर सडक साढे पाँच मिटर फराकिलो कालोपत्रे गर्न लागिएको हो । सडक स्तरोन्नतिको जिम्मेवारी पाएको रौताहा कन्ट्रक्सन प्रालिले चैतको अन्तिम सातासम्म सबै काम सकेर सडक हस्तान्तरण गर्ने जनाएको छ ।

‘अघिल्लो वर्ष नै हामीले यो सडक कालोपत्रेका लागि आवश्यक पूर्वाधार तयार गरेका थियौँ, पहिले कोरोना र बाढीका कारण काम गर्न सकेनौँ’,कम्पनीका साइड इञ्चार्ज सुशील लामिछानेले भने, ‘चैत मसान्तसम्मको समय छ, हामीले काम सकेर हस्तान्तरण गर्छौं ।’ ६०/४० को साझेदारीमा निर्माण भइरहेको सडकका लागि तीन वर्षमा क्रमागत रुपमा रु नौ करोड बजेट विनियोजन भएको थियो । निर्माण कम्पनीले छ करोड ९ लाख रुपैयाँमा काम गरिरहेको छ ।

‘निर्माण कम्पनीको काम गर्ने तरिका हेर्दा तोकिएको समयमा काम सकिन्छ, गत वर्ष कोभिड र बाढीका कारणले समय थप भएको हो, यो वर्ष थप गर्न नपर्ला’, बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेल भन्छन्, ‘एकैपटक नगरको समेत साझेदारीमा एकै ठाउँमा तीन किलोमिटर लामो सडक कालोपत्रे हुन थालेको यो पहिलो सडक हो ।’

धार्मिक पर्यटकीय क्षेत्र भैवस्थानलाई बागलुङ बजारसँग कालोपत्रे सडकले जोड्ने योजनाअन्र्तगत यो सडकको स्तरोन्नतिको काम भइरहेको हो । ‘दैलोको बाटो कालोपत्रे हुँदै छ, यो बलेवाबासीका लागि खुसीको कुरा हो’, स्थानीय उमानाथ शर्माले भने, ‘समयमा काम सके निर्माण कम्पनीलाई हामी सम्मान गर्छौं ।’

गत वर्ष तयार भएको ग्राभेल सडक र आसपासमा लगाइएको पर्खाल असार १ गतेको भीषण बाढीले कालीगण्डकीमा मिसाइदिएको थियो । यो खण्डमा झरेको पहिरोका कारण लामो समय सडक अवरुद्ध भएको थियो । सडक मर्मत गरेर कालोपत्रे गर्न थालिएको निर्माण कम्पनीका प्रतिनिधि लामिछानेले बताए ।

सडक कालोपत्रे भएपछि भैरवस्थान, मुलाबारी, भकुण्डे भ्यूटावरलगायतका पर्यटकीय क्षेत्रमा पुग्न सहज हुनेछ । पाग्जादेखि भैरवस्थानसम्म विभिन्न खण्डमा स्तरोन्नतिको काम भइरहेकाले बाँकी सडक क्रमशः कालोपत्रे गर्न दबाब दिइने नेकपा एमाले नेता कृष्ण पाठकले जनाए । रासस