काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्वास्थ्य क्षेत्रको अभिभाराका लागि निजी क्षेत्रलाई पनि संगै लिएर अघि बढ्नुपर्ने बताएका छन् । शनिवार नेपाल नेशनल अस्पतालको पाँचौ वार्षिकोत्सवमा बोल्दै पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रममा स्वास्थ्य क्षेत्र मानवीय जीवनका लागि अत्यन्त महत्वपूर्ण विधा रहेको बताउँदै उनले स्वस्थ नागरिकको अभावमा सुखी समृद्व नेपालको परिकल्पना गर्न नसकिने बताए । ‘निजी क्षेत्रलाई पनि यथोचित साथमा लिएर स्वास्थ्य क्षेत्रका यावत् अभिभारा पूरा गर्न अघि बढ्नुपर्ने परिस्थिति छ’, उनले भने । यसका लागि देशैभरि निजी क्षेत्रमा पहल गर्नेमा विभिन्न अस्पतालहरु रहेपनि त्यसमध्ये नेशनल अस्पताल सबैको आश एवम् भरोसाको केन्द्रबिन्दु रहेको उनको भनाई छ ।
यस्तै, स्वास्थ्य क्षेत्रमा समस्याको च्याङ रहेको भन्दै पौडेलले भने, ‘ती समस्याहरु एक–एक गर्दै समाधान गरी स्वास्थ्यकर्मीहरुको मनोबल उठाउँदै अत्याधिक र सम्मानीय ढंगले गुणस्तरीय सेवा प्रदान गर्न अभिप्रेरित गर्नपर्छ ।’ त्यसैगरि, स्वास्थ्य सेवा मुनाफाभन्दा सेवातर्फ अभिमुखी हुनुपर्नेमा समेत जोड दिदैँ उनले नेशनल अस्पतालको उपचार सेवा सबैको पहुँचमा पुग्न सकोस् भन्ने शुभकामना समेत व्यक्त गरे ।
अस्पतालको भावी योजनाबारे बोल्दै अस्पतालका कार्यकारी निर्देशक डा. प्रकाश पौडेलले भने अबका १० वर्षभित्र अस्पतालले आफ्नै भवनबाट सेवा दिने लक्ष्य रहेको बताए । आफ्नो लक्ष्याप्रति कुनै शंका नरहेको बताउँदै उनले भने, ‘आजसम्म मेरा अस्पतालका अग्रज र साथीभाईले जसरी मलाई विगतमा साथ दिनुभएको छ, त्यसैको आधारमा सो सपना पूरा गर्न गाहृो हुन्छ जस्तो मलाई लाग्दैन ।’ यसका साथै अस्पताललाई वर्तमान अवस्थाको मूर्त रुप दिन प्रत्येक अस्पतालका कर्मचारीको अहम् भुमिका रहेको भन्दै उनले धन्यवाद समेत ज्ञापन गरे ।
नेशनललाई आगामी दिनमा संस्थागत रुपमा अगाडि बढाउनका लागि अस्पतालमा इर्मेजेन्सी डिपार्टको स्थापना गरिएको बताउँदै उनले अन्य इन्टरभेन्सको प्रक्रिया समेत अघि बढिरहेको जानकारी दिए ।
पाँच वर्षअघि ६७ जना कर्मचारी र न्युन पूर्वाधार बाट शुरु गरिएको अस्पतालमा हाल एक सय ८७ जना कर्मचारीहरु फुल टाइम ड्युटीमा रहने गरेको पौडेलको भनाई छ । यस्तै, ओपिडि विभागबाट मात्रै अस्पतालले दैनिक सयभन्दा बढी बिरामीलाई सेवा दिदैँ आएको उनले जनाए ।