काठमाडौँ –दोस्रो चरण अन्तर्गत आज ४५ जिल्लामा सम्पन्न भएको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा ६७ प्रतिशत भन्दा बढी प्रतिशत मतदान भएको छ ।


ADVERTISEMENT


आज साँझ निर्वाचन आयोगको केन्द्रिय कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादवले प्रारम्भिक प्रतिवेदन विकरण अनुसार ६७ प्रतिशत भन्दा बढी मतदान भएको जानकारी दिए । प्राप्त विवरण अनुसार सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशतभन्दा बढी मतदान भएको उनले बताए ।
यो आँकडा अझै बढ्नसक्ने आयोगले जनाएको छ ।


ADVERTISEMENT

# # #


निर्वाचन अयोगका अनुसार १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभा सदस्यका लागि ४५ जिल्लामा रहेका ७ हजार ७५२ मतदान स्थल र १५ हजार ३४४ मतदान केन्द्रमध्ये एक मतदान स्थलबाहेक सबैमा शान्तिपूर्ण मतदान भएको छ ।

अर्घाखाँचीको सन्धीखर्कस्थित नेटा मतदान स्थलमा रहेका दुवै मतदान केन्द्रको मतदान रद्ध गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै राजनीतिक दलका कार्यकर्ताले मतदान स्थल तोडफोड गर्नुका साथै मतपेटिकामा आक्रमण गरेपछि मतदान रद्ध गरिएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए । उनका अनुसार त्यस स्थलको मतदान केहिदिनभित्रै हुनेछ ।

मतदान सम्पन्न भएका ४५ जिल्लाका सबै मतपेटिका जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइनेछ । सर्वदलीय बैठकपछि मतगणना सुरु हुनेछ ।

पत्रकार सम्मेलनमा बाल्दै प्रमुख आयुक्त डा यादवले भने, ‘निर्वाचन उत्साहजनक रुपमा शान्तिपूर्ण र व्यापक रुपमा सम्पन्न भएको छ । मतदानमा सहभागी भएका सबै मतदाता, सञ्चारकर्मी, सरकार, सुरक्षा निकायलाई निर्वाचन आयोग धन्यवाद दिन्छ ।’