काठमाडौं-निकै जोखिमपूर्ण मानिएको स्क्रब टाइफस सहरमा समेत फैलन थालेको छ । सरकारी बेवास्ताका कारण नयाँ रोगहरू सहरमा फैलनेक्रम बढ्दै गएको छ । यसअघि तराईका केही भाग र पहाडी जिल्लामा छिटफुट देखिँदै आएको अति संवेदनशील मानिने स्क्रब टाइफस पछिल्लो समय काठमाडौं उपत्यकाकेन्द्रित हुन थालेको हो । केही दिनयता ललितपुरमा स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा स्क्रब टाइफसका १० जना बिरामी देखिएका छन् ।


ADVERTISEMENT


स्क्रब टाइफस प्रायः गर्मी मौसममा देखिने रोग भए पनि समयमैै नियन्त्रणमा चासो नदेखाउँदा चिसोमा पनि देखिने गर्छ । चिकित्सकले स्क्रब टाइफसको जोखिमका विषयमा पटक–पटक सरकारको ध्यानाकर्षण गराए पनि नियन्त्रण गर्ने निकाय कानमा तेल हालेर बसिरहेको चिकित्सकको आरोप छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख झलक शर्मा पौडेलले ललितपुरमा आश्चर्यलाग्दो रूपमा स्क्रब टाइफस फैलिएको बताए ।


ADVERTISEMENT

# # #


स्क्रब टाइफसले महामारीको रूप लिन सक्छ
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार गोदावरी, मंगलबजार, खुमलटार, हरिसिद्धि र धापाखेलमा स्क्रब टाइफसका बिरामी भेटिएका हुन् । जिल्लामा स्क्रब टाइफस फेला परेपछि जनस्वास्थ्य कार्यालय ललितपुरले सचेत रहन र आवश्यक सुरक्षा अपनाउन सबैमा अपिल गरेको छ । स्क्रब टाइफस मुसामा हुने किर्नाबाट मानिसमा सर्ने जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख पौडेलले बताए । ‘हामीले भईपरी आउने समस्यालाई ध्यानमा राखेर नियन्त्रणको प्रयास ग¥यौँ, तर कुनै सुधार भएको छैन,’ पौडेलले भने, ‘यही अवस्था रहने हो भने सहरी क्षेत्रमा स्क्रब टाइफसले महामारीको रूप लिन सक्छ ।’ उनले रोग नियन्त्रणको विषयमा सरकारी निकाय कसले जिम्मा लिने भन्नेमै समस्या देखिएको तर्क गरे ।

विदेशबाट भित्रिँदै नयाँ रोग
नेपालीहरू विश्वका विभिन्न देशमा रोजगारीका लागि पुगेका छन् । उनीहरूले पश्चिमा मुलुकबाट स्वदेश फर्कंदा आफूसँगै विभिन्न नयाँ रोग लिएर आउने गरेको चिकित्सकहरू बताउँछन् । तिनै रोग आज नेपालमा पनि देखिन थालेको चिकित्सकको भनाइ छ ।

करिब चार वर्षअघि विभिन्न रोगका विषयमा विश्वभरका चिकित्सकसंँग अन्तक्र्रिया गरी सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले स्क्रब टाइफसको जोखिमबारे पहिलोपटक मुख खोलेका थिए । नेपाली बिरामीमा देखिएका रोगका लक्षणका आधारमा त्यतिवेला उनले नेपाल पनि स्क्रब टाइफसको जोखिममा रहेको धारणा सार्वजनिक गरेका थिए । पुनले भने, ‘स्क्रब टाइफसको जोखिमका विषयमा मैले पटक–पटक सरकारलाई जानकारी गराएको छु ।

तर, सम्बन्धित निकायले बेवास्ता गर्दा नयाँ रोग नेपालमा फैलनेक्रम बढ्दै गएको छ ।’ तर, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्य डा.पुनले दिएको रिपोर्टलाई आधार मान्न नसकिने बताउँछन् ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डा. पुनको सुझाबलाई हावादारी भन्दै सार्वजनिक रूपमै होच्याउने गरेको छ । स्क्रब टाइफसबारे सरकारले वेलैमा चासो नदिने हो भने दीर्घकालीन रूपमा गम्भीर समस्या आउन सक्ने डा. पुनले दाबी गरे । ‘तत्कालका लागि हामीले नयाँ देखा परेको रोगलाई स्क्रब टाइफस भनेका छौँ,’ पुनले भने, ‘लक्षण र बिरामीको अवस्था हेर्दा यसलाई स्क्रब टाइफस भन्ने वा अरू नै नाम दिने अन्योलमा परेका छौँ ।’

कसरी सर्छ स्क्रब टाइफस ?
स्क्रब टाइफस एक प्रकारको ज्वरो हो । समयमै उपचार पाए यो रोग सामान्य औषधि तथा एन्टिबायोटिकले नै निको हुने डा. पुनले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले स्क्रब टाइफसलाई नियन्त्रण गर्न मुसा लुक्ने ठाउँ टाल्न, पानी जम्ने खाल्डा पुर्न, सफासुग्घरमा ध्यान दिन स्थानीयलाई आग्रह गरेको छ ।

चिकित्सकका अनुसार मुसाका कानमा बस्ने माइट नामको सूक्ष्म किरा मानिसमा सर्छ । झाडी, चौर, झारपात, पुराना काठ आदिमा बस्ने किरा मुसामार्फत मान्छेमा सरेपछि मानिसमा स्क्रब टाइफसको संक्रमण हुन्छ । प्रायःजसो झाडी, खेतवारी, वनजंगलमा देखिने स्क्रब टाइफसको जीवाणु पछिल्लो केही समययता सहरमा पनि देखा पर्न थाल्नुलाई चिकित्सकले गम्भीर रूपमा लिएका छन् ।

स्क्रब टाइफस लागेका बिरामीलाई १ सय ५ डिग्रीसम्म ज्वरो आउने, घाँटीवरिपरि मसिना बिमिरा आउने, पसिना आउने, टाउको दुख्ने र मुख्य गरी श्वासप्रश्वासमा समस्या देखिने गर्छ । डा. पुनका अनुसार स्क्रब टाइफस लागेका बिरामीलाई सुरुवाती समयमा डक्सिसाइक्लिन नामक औषधि चलाएको खण्डमा बिरामी निको हुन्छ । गर्भवती महिला र ८ वर्षभन्दा कम उमेरका बालबालिकालाई सो औषधिका अलावा एजिथ्रो माइसिन चलाउनुपर्छ । एक सातासम्म बिहान र बेलुका नियमित औषधि सेवन गरेको खण्डमा रोग निको हुने डा. पुनले बताए ।