काठमाडौँ – शुक्रबार र शनिबार आएको हावा हुरीले चितवनको केरा खेतीमा करोडौको क्षति भएको छ ।
हावा हुरीले चितवनको रत्ननगर खैरहनी र कालिका नगर पालिकाको विभिन्न क्षेत्रको केरा खेतीमा क्षति पुगेको किसानहरुले बताएका छन् ।
हावा हुरीले चितवनको करीब २ हजार ५ सय बिगाहमा लगाएको केरा क्षती भएको चितवन केरा उत्पादक संघका अध्यक्ष माधब प्रसाद घिमिरेले बताए । हावा हुरीले चितवनका किसानहरुको करीब १२ करोड बराबरको केरा क्षति भएको उनले बताए ।
चितवनमा हावा हुरीले हाल सम्म कै ठुलो केरा खेतीमा क्षति भएको किसानहरुले बताएका छन् । जेठ महिनामा यसरी हावाहुरी आउला र क्षति होला भनेर कल्पना समेत नगरेको हावा हुरीले मुखमा आएको बालीमा क्षति भए पछी किसानहरु चिन्तित भएका छन् । हावा हुरीले ११ बिगाह जग्गामा लगाएको केरा सखाप भएको चितवन खैरहनी नगर पालिका ६ तुलसी पुरका किसान पुष्क सिंहले बताए ।
हावा हुरीले टिपेर बेच्ने बेला भएको केरा पुर्ण रुपमा क्षति हुदा किसानहरु निरास भएका छन् । चितवनमा करीब ३ हजार ५ सय बिगाहमा केरा खेती भए पनि १ हजार ५ सय बिगाहको केरामा मात्र बीमा गरेका छन् । केरा खेतीमा बीमा गरीए पनी सरकारले समयमा नै बीमित रकम बिमा कम्पनीलाई नबुझाउदा बीमाको रकम पाउन पनि ढिला हुने गरेको किसानहरु बताउँछन् । गत बर्ष बीमा कम्पनी दिनु पर्ने ४ करोड मध्य २ करोड रुपैयामा मात्र किसानले पाएको र २ करोड अझ बाकी रहेको छ ।
किसानहरुले प्रति बिगाहबाट करिब १० लाखको हारी हारीमा केरा बिक्री गर्ने गरेका छन् । हावा हुरीले केरा खेतिमा ठुलो क्षति भए पछी किसानलाई क्षति पुर्तीको लागि पहल गर्ने उद्योग बाणिज्य सघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले बताए ।
हावा हुरीले ठुलो नोक्सान ब्यहोर्न परेको किसानलाई बारीमा ढलेको केराको बोट कसरी हटाउने भन्ने अर्को चिन्तामा परेको छ ।


























































