काठमाडौँ – नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले आवश्यकताको आधारमा बटेट विनियोजन हुन नसकेको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलका क्रममा महतले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेट प्राथमिकीकरण नगरिएको बताएका हुन् । उनले बजेटको आकार जति बढाइएपनि व्यवस्थित रुपमा खर्च गर्न नसके मुलुकको आर्थिक विकास हुन नसक्ने धारणा राखृ । उनले बजेटमार्फत उत्पादनशील क्षेत्रमा लगानी बढाउन नसक्दा मुलुकको आर्थिक वृद्धिमा असर पुग्ने बताए । राजस्व राम्रो उठाएपनि प्रतिफल नआएको कारण खोज्नुपर्ने उनले बताए ।
त्यस्तै एमाले सांसद बिष्णु पौडेलले सरकारले ल्याएको बजेट सन्तुलित भएको बताए । राजस्वले साधारण खर्च धान्न नसक्ने र ऋण तिर्नका लागि ऋण लिनुपर्ने अवस्थामा आन्तरिक ऋणको सीमालाई व्यवस्थापन गर्नुपर्ने उनले बताए । उनले आफैले चुनौती सिर्जना गर्ने र पूरा गर्ने अर्थमन्त्रीको अठोट सकारात्मक रहेको धारणा राखे ।
त्यस्तै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले समृद्धि सुशासन, सामाजिक न्याय र मौलिक हक कार्यान्वयन हुँदै समाजवादको यात्रा अघि बढाउन अहिलेको बजेट निकै महत्वपूर्ण रहेको बताए । लक्ष्य प्रषेपणका हिसावले सरकारले ल्याएको बजेटको आधार पूर्तिको आधारले कार्यान्वयन हुनेमा आशावादी रहेको उनको भनाई छ ।
पौडेलले अहिलेको बजेट धेरै बर्षपछिको ऐतिहासिक बजेट भएको टिप्पणी गरे ।


























































