काठमाडौँ – राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकार गठनका विषयमा सदनमा जात्रा देखिएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा शाहीले कांग्रेस–एमालेबीचको सहमतिका बारेमा सदनमा जात्रा देखिएको बताएका हुन् । सरकारमा हुदा केही नगर्ने, नयाँ समीकरण बन्ने बितिकै ठूलै काम गर्ने कुरा तथा एक आपसमा गालीलगौजको श्रृंखला सदनमा देखिएको उनले बताए ।
शाहीले अहिलेको संविधानका कारण मुलुकमा पटक पटक सरकार परिवर्तन हुने अवस्था आएको भन्दै यसलाई संशोधन गर्नुपर्ने बताए । देशका हितमा नरहेका संविधानका बुँदाहरु परिवर्तन गर्न दलहरुलाई कसैले नरोकेको उनले बताए ।
उनले नयाँ दलहरुलाई पुराना दलहरुको विकल्पमा रुपमा जनताले मत दिएको भन्दै नयाँ दलहरु पद र प्रतिष्ठामा रमाउन थालेको जिकिर गरे । शाहीले जिवी राईलाई पक्राउ गरेर नेपाल ल्याए गृहमन्त्री रवि लामिछानेलाई फुलमाला लगाइदिने बताए । उनले भने, ‘मलाई मेरा गृहमन्त्रीबाट बढी केही माग्नु छैन । जीबी राई पक्राउ गरेर ल्याउनुहोस्, यही संसदमा हामी फूलमालाले स्वागत गर्छौं ।’
त्यस्तै उनले निर्मला पन्तको बलात्कारपछि हत्याको दोषीलाई आफू सरकारमा गए ७२ घण्टामा फक्राउ गर्ने भने पनि गृहमन्त्री भएको १२४ दिनसम्म पनि नसकेको भन्दै उनले गृहमन्त्रीले जनतालाई झुक्याएको बताए । फाइल खोल्ने डरले सरकार परिवर्तन गर्न लागेको गृहमन्त्रीको अभिव्यक्ति प्रति आपत्ति जनाउदै सांसद शाहीले बाँकी रहेको सात दिनभित्र फाइल खोल्न र दोषीलाई पक्राउ गर्न चुनौती दिए ।



























































