काठमाडौं – अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १८ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ४ जना गरी जम्मा ७४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २१ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्‍चिम प्रदेशमा १० जना गरी जम्मा ८८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार बाढीको कारण जम्मा १ सय ६१ घर डुबानमा परेका छन् । यस्तै ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने ३ सय ३५ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट २ हजार २ सय ९६ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत भइरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।