काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको अनुशासन आयोगले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको छ ।
यसअघि बुधवार बसेको रास्वपाको गत केन्द्रीय समिति बैठकले एक साताका लागि निलम्बन गरेको ढकाललाई थप कारवाहीस्वरुप आयोगले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको सिफारिस गरेको हो ।
सो सिफारिसबारे जारी केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ । रास्वपाका एक नेताका अनुसार आयोगको सिफारिसमाथि छलफल गरेर केन्द्रीय समितिले आवश्यक निर्णय लिनेछ ।
अनुशासन आयोगको सिफारिस केन्द्रीय समितिबाट अनुमोदन भएमा ढकालको २ वर्षे राजनीतिक यात्रा रास्वपामा बिसर्जन हुनेछ ।
मुकुलमाथि अराजकरुपमा प्रस्तुत भएको तथा पार्टीकोविरुद्ध गतिविधि गरेको आरोप छ । उनीे मंगलबार पार्टीले केन्द्रिय बैठक लाइभ नगरेकोमा विद्रोह जनाउदैँ मुखमा कालो टेप लगाएर बैठकमा सरिक भएका थिए ।



























































