काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले संक्रमणकालीन न्यायसंग सम्बन्धी विषयलाई पीडितमैत्री बनाएर छिटो टुङ्गो लगाउनुपर्नेमा जोड दिएको छ ।
सोमबार ललितपुरमा सरोकारवालासंग छलफल गर्दै आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले दिएका सुझावका आधारमा संक्रमणकालीन न्यायसंग सम्बन्धी विषयलाई पिडितमैत्री बनाएर छिटो टुङ्गोमा पुराउनुपर्ने बताएका हुन् ।
उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अन्तराष्ट्रिय सिद्धान्त, सर्वोच्च अदालतको आदेश र आयोगको सिफारिस बमोजिम संशोधन गर्न पटकपटक सुझाव दिएको धारणा राखे ।
आयोगले गम्भीर प्रकृतिका बेपत्ता, गैरन्यायिक हत्या, अपहरण, यातना, बलात्कार, तथा यौन हिंसासम्बन्धी मुद्दामा आममाफी दिने कार्य नगर्न नगराउन पनि ध्यानाकर्षण गराउदै आएको उनले बताए ।
अध्यक्ष मगरले द्वन्द्वकालीन अवस्थामा सहभागी भएका व्यक्ति, पीडित, सरकार लगाएतको साझा प्रयास बेगर संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुराउन कठिन हुने जिकिर गरे ।
उनले आयोगले द्वन्द्वकालीन मुद्दाहरु अध्ययन गरिरहेको र आवश्यकता अनुसार राज्यलाई निर्देशन दिइएको तर आदेश कार्यान्वयनमा समस्या देखिएको बताए ।



























































