काठमाडौँ – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । बुधबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले उक्त ह्वीप जारी गरेको मुख्य सचेतक हितराज पाण्डेले बताए ।
प्रधानमन्त्री प्रचण्डले असार २८ गते (शुक्रबार) प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । प्रमुख सत्तारुढ दल नेकपा एमाले लगायतका पार्टीले सरकारलाई दिदएको समर्थन फिर्ता पलएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएको हो । करिब डेढ वर्षको अवधिमा ४ पटक विश्वासको मत लिएका प्रचण्डको यो पाँचौँ पटक हुनेछ ।
यस पटक भने उनले विश्वासको मत गुमाउने र पदमुक्त हुने निश्चित भएको छ । किनकी प्रमुख २ ठूला दलहरु नेपाली काँग्रेस र एमालेले नयाँ गठबन्धन बनाउँदै सत्ता सहकार्य गर्ने सहमति गरिसकेका छन् । जस अनुसार पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति भएको छ ।
यसअनुसार नयाँ आर्थिक वर्ष सुरु नहुँदै देशले नयाँ प्रधानमन्त्री समेत पाउने निश्चित भएको छ ।



























































