काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट बर्खास्त भएका डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेमाथि पासपोर्ट दुरुपयोग र सहकारी ठगी प्रकरणमा पार्टीले समेत निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले सर्वोच्च अदालतले समेत रविमाटि अनुन्धान हुनुपर्ने बताइसकेकाले संसघीय छानबिन समितिका अलावा पार्टीभित्र निष्पक्ष समिति गठन गरेर अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।
‘हिजोको दिनमा उहाँले आफूमाथि कुनै जाहेरी, उजुरी छैन भनेपछि हामीले स्वीकार गरेका थियौँ । तर, आज सर्वोच्च अदालतले उहाँमाथि अनुसन्धान हुनुपर्छ भनिसकेको छ ।’ उनले भने, ‘रवि लामिछानेको क्लबले गर्नेवाला छैन, तर अब राष्ट्रिय स्वतन्त्र पार्टीले अब सर्वोच्चको फैसलालाई कदर गर्दै पार्टीभित्र उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन हुनुपर्छ ।’ ढकालले उक्त समितिमा रविको खल्तीका मान्छे नभई निष्पक्ष र प्रत्यक्ष प्रशारण गरेर चयन गर्नुपर्ने बताए ।
यस्तै ढकालले आफूलाई महामन्त्री पदबाट गरिएको बर्खास्तीको कारवाही नै अवैधानिक रहेको बताए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र केन्द्रीय सदस्यबाट म निष्काशिात भएको छैन, मलाई रवि लामिछानेको क्लबबाट निष्काशित गरिएको हो ।’ उनले भने, ‘मलाई ७ दिनको म्याद राखेर स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरणको म्यान नै नसकिकन मलाई निलम्बनको पत्र थमाउनुभयो । जुन सरासर गलत छ, त्यसको प्रक्रिया मिलेको छैन ।’ उनले आफू कानुन अनुसार अहिले पनि रास्वपाको महामन्त्रीको पदमा रहेको जिकिर गरे ।
ढकालले आफूले जनताका सुझावलाई प्रतिवेदनमार्फत सार्वजनिक गर्दा कारबाही भएको भन्दै आफू फेरि पनि ‘प्रस्ताव यात्रा’ जनतामाझ जाने बताए ।



























































