काडमाडौँ – सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाहरुको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृत्यु भएकाहरुको परिवारलाई राहत उपलव्ध गराउने निर्णय गरेको हो । विपद्का कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म फेला पर्न नसकेका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलव्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले २०८२ असार मसान्त सम्म नेपाललाई सडक बालबालिकामुक्त बनाउने निर्णय गरेको छ । कीर्तिपुर क्रिकेट मैदानलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार फ्लडलाइट जडान र प्याराफिट निर्माण कार्य तीन सय दिन भित्र सम्पन्न गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकले परिवर्तित समयलाई मध्यनजर गर्दै मन्त्रीपरिषद तथा मन्त्रीपरिषदका विभिन्न समितिहरुमा प्रक्रियामा रहेका वा प्रक्रिया नलगिएका सम्पूर्ण प्रस्तावहरु सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय भएको उनले बताए ।
त्यस्तै बैठकले जाजरकोट भूकम्प प्रभावितहरुलाई दोस्रो र तेस्रो किस्ता उपलब्ध निर्णय गरेको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव लिलादेवी गर्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवादी दिने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।
बैठकमा प्रधानमन्त्री केपी ओलीले मन्त्रालयबीच समन्वयका साथ अघि बढ्न निर्देशन दिएका छन् भने एक महिनाभित्र केही फरक देखाउने गरी काम गर्न पनि मन्त्रीहरुलाई निर्देशन दिएको सरकारका प्रवक्ता गुरुङले बताए ।



























































