टीकापुर (कैलाली)– लामो प्रतीक्षापछि टीकापुर अस्पतालमा ‘हेमोडाइलिसिस’ सेवा सुचारु भएको छ । अस्पतालमा गएको असार ३१ गतेदेखि सेवा सुरु भएको हो ।
सेवा सञ्चालनका लागि अस्पतालले रु ४० लाख खर्च गरेको अस्पतालको भनाई छ । एक विशेषज्ञ चिकित्सक, चार नर्सिङ स्टाफ र दुईजना सहयोगीलाई सेवा सञ्चालनका लागि तालिम दिइएको छ । सेवा फूल फेजमा चलेपछि दैनिक चारजनालाई सहज रूपमा सेवा दिन सकिने त्यहाँका सेवाकर्मी बताउँछन् । यद्यपि यसका लागि भने केही समय लाग्ने उनीहरुको भनाई छ ।
अस्पतालमा डाइलिसिस सेवा सुरु भएपछि यस क्षेत्रका बिरामीले राहत पाएका छन् । यहाँका बिरामी धनगढी र नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ । कतिपय नेपालगञ्ज र धनगढी जानुपर्ने अवस्था भएकै कारण काठमाडौँ बसेर डाइलिसिस गराउने गरेका छन् ।



























































