कैलाली –  कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा पूजा सम्पन्न भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार धार्मिक विधिअनुसार पूजा सम्पन्न गर्दै निर्माणाधीन जालपादेवी केबलकार परियोजना आगामी दुई महिनाभित्र व्यावसायिक रूपमा सञ्चालनमा आउने जानकारी दिएका छन्।


ADVERTISEMENT


कम्पनीका अनुसार आइएमई समूहको मुख्य लगानीमा निर्माण भइरहेको करिब ६ अर्ब रुपैयाँको उक्त परियोजनाको अधिकांश भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ। पोल ठड्याउने, बटम तथा टप स्टेशन निर्माणलगायतका काम लगभग सम्पन्न भइसकेका छन् भने अब तार तान्ने र गोण्डोला जडान गर्ने प्राविधिक काम सुरु गरिनेछ।


ADVERTISEMENT

# # #


कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म ३.१ किलोमिटर लामो केबलकार परियोजनाको तल्लो स्टेशनमा पाँचतारे होटल, क्यासिनो, ब्यांक्वेट हललगायतका संरचना निर्माण भइरहेका छन्। माथिल्लो स्टेशनमा रिसोर्ट, जालपादेवी मन्दिर, स्काई वाक, पदमार्ग, रेष्टुरेन्ट तथा बाल उद्यानलगायतका पर्यटकीय पूर्वाधार विकास भइरहेको कम्पनीले जनाएको छ।

क्षमा पूजा कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रले निर्माण गर्ने आयोजनाहरू समय, लागत र गुणस्तरमा सम्पन्न गर्न सक्ने क्षमता प्रमाणित गरिसकेको उल्लेख गर्दै जालपादेवी केबलकार पनि निर्धारित समयमै सञ्चालनमा ल्याइने बताए। उनले नेपालको आर्थिक रूपान्तरणका लागि पर्यटन पूर्वाधारमा लगानी विस्तार अपरिहार्य रहेको धारणा व्यक्त गर्दै सातै प्रदेशमा यस्ता ठूला पर्यटकीय आयोजना निर्माण गर्ने दीर्घकालीन लक्ष्य रहेको बताए।

स्थानीय व्यवसायी तथा सरोकारवालाले यो परियोजनाले सुदूरपश्चिम प्रदेशको पर्यटन, होटल, यातायात, कृषि, व्यापार र सेवा क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्। परियोजना सञ्चालनमा आएपछि स्थानीय रोजगारी बढ्नुका साथै राजकाँडा क्षेत्र तराईको गर्मीबाट राहत खोज्ने पर्यटकका लागि आकर्षक ‘हिल स्टेसन’का रूपमा विकास हुने अपेक्षा गरिएको छ।

भारतीय सीमा नाका गड्डाचौकी, गौरीफन्टा र रुपैडिहासँग सहज सडक पहुँच भएकाले उत्तराखण्ड, उत्तर प्रदेश तथा भारतका विभिन्न सहरबाट आउने पर्यटकका लागि पनि जालपादेवी केबलकार प्रमुख आकर्षण बन्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।