काठमाडौं – नयाँ सत्ता गठबन्धनले दुई तिहाई बहुमतका आधारमा संविधान संशोधन गर्ने एजेन्डालाई मूर्तरुप दिने भएपछि विभिन्न प्रदेशहरुमा पनि सोही अनुसारको सबल नेतृत्व चयनको प्रक्रिया प्रारम्भ भइसकेको छ ।
मुलुक संघीयतामा गइसकेपछि बागमती प्रदेशमा नेपाली काँग्रेसले पहिलोपटक सरकारको नेतृत्व गर्ने अवसर पाउँदैछ । यसपटक नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्रीको उम्मेदवार को बन्ला भन्ने अन्यौल या कौतुहल पनि छैन ।
समग्र प्रदेशका जनता, पार्टी नेतृत्व तह र प्रदेश संसदीय दलका सदस्यको एउटै चाहना छ–यसपाली प्रदेश संसदीय दलका पूर्व नेता इन्द्र बानियाँलाई नै मुख्यमन्त्री बनाउनुपर्छ ।
हुन त इन्द्र बानियाँ पहिलोपटक प्रदेश संसदीय दलको नेता हुँदा नै मुख्यमन्त्री बन्ने लाइनमै थिए । एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले ‘पहिलो चरणमा आफू बन्ने र दोस्रो चरणमा बानियाँलाई छाडने’ आलोपालो शूत्र अघि सार्दै आफैले मुख्यमन्त्री पद ग्रहण गरे ।
आलोपालोको शूत्र भने लागू भएन । तत्कालीन पाँच दलीय गठबन्धनले पाण्डेलाई नै मुख्यमन्त्री कायम राख्यो, जुन बानियाँमाथिको एकखालका अन्याय थियो । तैपनि त्यसलाई उनले सहजै स्वीकारे र संगठनकै काममा लागे । यसपाली नेपाली काँग्रेस स्वयंको नेतृत्व हुने भएकाले बानियाँको सम्भावना ९९.९ प्रतिशत रहेको स्पष्ट छ ।
बागमतीमा बानियाँजत्तिको उपयुक्त नेता तत्काललाई देखिँदैन पनि । उनको आफ्नै व्यक्तित्वको ओज कुन हदसम्म प्रभावकारी छ भने तल्लो तहदेखि शीर्ष तहसम्मका नेता/कार्यकर्तालाई रिझाउन, मनाउन र समेटन सक्षम छन् । शक्रिय, इमानदार, सहयोगी स्वभावका कारण बानियाँले धेरै नेता/कार्यकर्ताको मन जितेका छन् । बानियाँ यस्ता नेता हुन् जो अन्य क्षेत्रमा कुनै सम्भावना नदेखेर राजनीतिको शरणमा आएका हैनन् । उनको आफ्नै उद्यम/व्यवसाय छ । उनलाई कुनै आर्थिक संकट पनि छैन । राजनीतिमा आउनुको उनको एक मात्र ध्येय भनेको सेवा, सहयोग, देश र जनताको हित ।
खासमा भन्ने हो भने उनी कसैलाई पनि ‘मेरो पार्टीको कार्यकर्ता’ भनेर विभेद गर्दैनन् । जुनसुकै पार्टीको कार्यकर्ता किन नहोस्, उनको नजरमा ति ‘जनता’ हुन् । यसरी सबैलाई समभावले हेर्ने सोचकै कारण उनी मुख्यमन्त्री भएमा समग्र प्रदेशका जनताको समान आग्रह र लगानीका साथ विकास हुने आशा अन्य दल समर्थकहरुमा पनि पाइन्छ ।
नेपाली काँग्रेस, बागमती प्रदेशको सभापति भएपनि बानियाँको ‘पर्फमेन्स’ प्रशंसालायक नै छ । गएको स्थानीय निर्वाचन उनकै नेतृत्वमा सम्पन्न भएको थियो, परिणाम अपेक्षा गरेभन्दा बढी सुखद रह्यो । प्रदेशको निर्वाचनमा पनि काँग्रेसले उल्लेखनीय सफलता हासिल गरेको छ ।
‘राजनीति भनेको सेवा हो, पेशा हैन’ भन्ने सत् मान्यताका पक्षपाती बानियाँले मकवानपुर क्षेत्रका विपन्न, पिछडिएका, अल्पसंख्यक र समस्यामा परेको धेरै मानिसलाई राहत दिएका छन् । त्यसैले त मकवानपुरमा मात्र हैन, काठमाडौंमा समेत एउटा उक्ति निकै चर्चित छ, ‘इन्द्र बानियाँ भनेको सबैको सहारा हो ।’
यी यावत पृष्ठभूमि र योगदानका आधारमा बानियाँ यसपाली निर्विकल्प मुख्यमन्त्री हुन् । मुख्यमन्त्री बनाउनु केवल बानियाँको मात्र सफलता या प्राप्ती हैन, बरु यो पार्टी, प्रदेश र देशकै लागि पनि आवश्यक हो भन्ने चर्चा चिया पसलदेखि सामान्य खाजाघरसम्ममा चल्न थालेको छ ।
यसको एउटा अर्को कारण पनि छ, बानियाँ एक गतिशील (डाइनामिक) नेता पनि हुन् । आफ्नो प्रदेशको कुनै क्षेत्रमा कुनै समस्या या अनिष्ट भयो भने उनी सारा योजना र काम छाडेर उनी त्यहाँ पुगिरहने गरेको विगतका घटनाक्रमबाट पनि स्पष्टै हुन्छ ।
पार्टीकै कतिपय नेताले कार्यकर्ताको फोन रिसिभ गर्न पनि आनाकानी गर्छन् । भेटनु त कुरै छाडौं । कोहीमा नेता भएँ भन्ने दम्भ पनि होला । तर, बानियाँ नै यस्ता नेता हुन्, जसको घरघडी सम्पर्क कार्यकता अर्थात जनतासँगै हुन्छ । उनमा कुनै दम्भ या अनावश्यक फुर्तीफार्ती पनि देखिदैन । सरल, हार्दिक, मित्रवत र समन्वयी ।
कुनै पनि सफल नेतामा चार गुण हुनुपर्छ । विभिन्न देशका अध्ययेताहरुले व्यवहारीक र स्थलगत अनुभवलाई आधार मानेर गरेको अध्ययन अनुसार सफल नेतामा हुनुपर्ने चार गुण हुन्–प्रभावकारी भाषण कला, ओजपूर्ण व्यक्तित्व, करीस्म्याटिक शैली र जनतासँग घनिष्ठता ।
यी चारवटै गुण बानियाँमा स्पष्ट देखिन्छन् । उनी भाषण उस्तै बुलन्द गर्छन् । व्यक्तित्व उस्तै प्रभावकारी, चमत्कारीक शैलीबाट कार्यकर्तालाई समेत खुसी तुल्याउने स्वभाव अनि यस्कैको परिणाम जनतासँगको सदा सामिप्यता, लगाव र प्रेम बानियाँमा हरेकले महसुस गर्नसक्छ ।
प्रदेशका लागि त भैहाल्यो, पार्टीका लागि पनि बानियाँ अपरिहार्य नेता हुन् । नेपाली काँग्रेसलाई पुनः सशक्त र सुदृढ बनाउने हो भने बानियाँलाई यसपाली मुख्यमन्त्री बनाउनुपर्छ । उनको भूमिकाले बागमती प्रदेशमा पार्टीको साख बढ्नेमा दुईमत छैन । हालसम्मको भूमिका हेर्दा पनि बानियाँ प्रदेश हुँदै संघसम्मको नेतृत्व गर्नसक्ने संभावना राख्छन् ।
अर्थात पार्टीमा नेतृत्व सँकटको अवस्था आउन नदिन पनि अहिलेदेखि नै बानियाँजस्ता योग्य, इमानदार, ‘डेडिकेटेड र एक्टीभ’ नेतालाई पार्टी नेतृत्वले पनि हौसला दिनुपर्छ ।
बागमती प्रदेशमा ३७ स्थानका साथ नेपाली काँग्रेसलाई पहिलो दल बनाउनुमा बानियाँको जुन भूमिका छ, त्यो भुल्नु हँदैन ।
उनी प्रदेशबाट दोश्रो पटक निर्वाचित भएका हुन् । मकवानपुरको प्रतिनिधिसभा–२ तर्फको प्रदेशसभा क्षेत्र (२)बाट निर्वाचित बानियाँले आफूसँगै पार्टीलाई समेत पहिलो दल बनाए, यही नै कुशल नेताको विशेषता हो । नेपाली काँग्रेस, बागमती प्रदेशको सभापति पदमा पनि उनी शानदार ढंगले निर्वाचित भएका थिए । पार्टीको १४औं महाधिवेशनमा एक हजार ८५ मत पाएर प्रदेश सभापतिमा विजयी भएका थिए, उनका प्रतिद्वन्द्वीले जम्मा ९ सय २७ मत ल्याएका थिए ।
मकवानपुरमा बानियाँ नै यस्ता नेता हुन्, जसले त्यहाँको बाम वर्चस्व कमजोर बनाइदिएका थिए । २०६४ मा संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ खडा भएका बानियाँले सो निर्वाचन जित्न नसके पनि २०७० सालको संविधानसभा निर्वाचनमा भने बाजी मारेरै छाडे । मकवानपुर-१ मा सशस्त्र विद्रोहबाट आएको नेकपा माओवादी केन्द्र, एमाले र राप्रपाजस्ता बलिया पार्टीका उम्मेदवारलाई पाखा लगाउँदै जित हात पारेका थिए । २०६४ मा चौथो स्थानमा रहेको काँग्रेसलाई बानियाँले २०७० को निर्वाचनमा पहिलो बनाए ।
२०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेर सबैको प्रशंशा बटुलेका बानियाँले पार्टीदेखि सरकारसम्म, नेतादेखि कार्यकर्तासम्म अनि केन्द्रदेखि क्षेत्रसम्म सबैको मन जितेर आफूलाई अब्ब्ल साबित गरिसकेकाले यसपाली उनैलाई मुख्यमन्त्रीका रुपमा खडा गरिनुपर्ने करिबकरिब सबैको माग छ ।



























































