काठमाडौँ– उपसभामुख इन्दिरा रानाले भिसाका लागि अमेरिकी दूतावासलाई लेखेको पत्रका बिषयमा प्रतिनिधिसभा बैठकमा सांसदहरुबीच आरोप–प्रत्यारोप भएको छ । .


ADVERTISEMENT


आइतबार बसेको बैठकमा सत्तारुढ दलका सांसदहरुले दूतावासलाई लेखेको पत्रका विषयमा छानविन हुनुपर्ने माग राखेको छ भने रास्वपाका सांसदले उपसभामुख पदका लागि अनावश्यक मिडिया ट्रयाल गर्न खोजिएको आरोप लगाएको छ ।


ADVERTISEMENT

# # #


बैठक सुरु भएपछि कांग्रेस सांसद रामहरि खतिवडाले उक्त विषयमा छानविन गर्नुपर्ने माग गर्दै राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाव दिए । उनले लेनदेनका आधारमा मानवतस्करीको आशंका समेत गरे ।

त्यसपछि बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले अमेरिकी दूतावासलाई लेखेको पत्रका विषयमा मिडिया ट्रयाल भइरहेको भन्दै आपत्ती जनाइन् । उनले मानवतस्करी जस्तो गम्भीर आरोप उपसभामुखलाई लगाउनु उचित नभएको अभिव्यक्ति दिइन् ।

उनले निष्पक्ष अनुसन्धानका लागि छानविन गर्न रास्वपा तयार रहेको जिकिर गरिन् । श्रेष्ठले उपसभामुख दल सत्तापक्षलाई चाहिएको भए दिन तयार रहेको तर कसैको चरित्र हत्या भने गर्न नपाउने बताइन् ।

त्यस्तै एमाले सांसद दामोदर पौंडेल वैरागीले नियतवस नै उपसभामुखले भिसाका लागि पत्र लेखेको भन्दै सदनले उपसभामुखको जवाफ खोजेको बताए । उनले सो प्रकरणमा लेनदेन नै रहेको दावी गरे ।

उनले लेनदेनको विषय जोगाउनका लागि रास्वपाको विज्ञप्ती पनि आपत्तीजनक रहेको भन्दै उपसभामुखका बिषयमा संसदीय छानविन समिति गठन गर्न माग गरे ।