काठमाडौँ – श्रीलंकामा जारी एसीसी महिला एशिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानलाईए १०८ रनको चुनौती दिएको छ ।
आइतबार श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको हो । नेपालका लागि कविता जोशीले सर्वाधिक ३१ रन हानिन् । नटआउट रहेकी उनले ४ चौका र १ छक्का प्रहार गरिन् । यस्तै सीता रानामगरले ३० बलमा ३ चौकासहित २६ रन र पूजा महतोले ३२ बलमा ३ चौकाको मतमा २५ रन बनाइन् । यस्तै कविता कुँवरले १३ तथा रुबिना क्षेत्रीले ८ रन जोडिन् ।
बलिङतर्फ पाकिस्तानकी सदया इक्वालले २ तथा फातिमा सानाले १ विकेट हात पारिन् । नेपालले ३ विकेट रनआउटका रुपमा गुमायो । पाकिस्तानले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।
यसअघि पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको थियो । आज पाकिस्तानसँग जित हात पार्दै सेमिफाइनल पक्का गर्ने नेपालको दाउ रहेको छ । यता पहिलो खेलमा भारतसँग हारेको पाकिस्तान सेमिफाईनलको यात्रालाई जीवितै राख्न आज जित्नैपर्ने दबाबमा रहेको छ ।
८ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । सोही समूहमा पाकिस्तानसहित युएई र भारतसमेत रहेका छन् । यस्तै समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्याण्ड छन् ।



























































