काठमाडौँ – श्रीलंकामा जारी एसीसी महिला एशिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ । आइत्बार पाकिस्तानसँग नेपाल ९ विकेटको हार व्यहोरेको हो ।
आइतबार श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले विष्फोटक ब्याटिङ गर्दै १ विकेट गुमाउँदै १२ ओभरमै जित हात पारेको हो ।
पाकिस्तानलाई सहजै जित दिलाउने क्रममा ओपनर मुनीबा अलि र गुल फिरोजाले शानदार ब्याटिङ गरे । पहिलो विकेटका उनीहरुले १०५ रनको साझेदारी गरे । त्यसक्रममा फिरोजाले ३५ बलमा १० चौकाको मदतमा ५७ रन बनाइन् । यस्तै मुनिबाले ३४ बलमा ८ चौका प्रहार गर्दै ४६ रनमा नटआउट रहिन् । नेपालका लागि कविता जोशीले १ विकेट लिइन् । अन्य बलर भने विकेटविहीन भए ।
यसअघि नेपालका लागि कविता जोशीले सर्वाधिक ३१ रन हानिन् । नटआउट रहेकी उनले ४ चौका र १ छक्का प्रहार गरिन् । यस्तै सीता रानामगरले ३० बलमा ३ चौकासहित २६ रन र पूजा महतोले ३२ बलमा ३ चौकाको मतमा २५ रन बनाइन् । यस्तै कविता कुँवरले १३ तथा रुबिना क्षेत्रीले ८ रन जोडिन् ।
बलिङतर्फ पाकिस्तानकी सदया इक्वालले २ तथा फातिमा सानाले १ विकेट हात पारिन् । नेपालले ३ विकेट रनआउटका रुपमा गुमायो । पाकिस्तानले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।
यसअघि पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको थियो । आजको हारसँगै नेपाललाई सेमिफाइनल पुग्ने यात्रा कठिन बनेको छ । नेपालले प्रतियोगितामा समूह चरणको अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ ।
८ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । सोही समूहमा पाकिस्तानसहित युएई र भारतसमेत रहेका छन् । यस्तै समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्याण्ड छन् ।



























































