काठमाडौँ– सरकारले एकैपटक ठूलो संख्यामा सचिवहरुको सरुवा गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले एकैपटक २१ जना सचिवहरुको सरुवा गरेको हो ।


ADVERTISEMENT


बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केशवकुमार शर्माको सरुवा भएको छ । शर्मा जल तथा ऊर्जा आयोगमा रहेका थिए । त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको ऊर्जा सचिवमा सरुवा रहेको छ ।


ADVERTISEMENT

# # #


यसैगरी अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ भने अर्थसचिव मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ । यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव रहेका दिनेशकुमार घिमिरेले राजस्व सचिवको जिम्मेवारी दिइएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अख्तियारमा सचिव रामेश्वर दंगालको रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको श्रम मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालयका भएका भरतमणि सुवेदीको संघीय मामिला मन्त्रालयमा सरुवा भएको छ ।

यसैगरी राष्ट्रपतिको कार्यालयका डिल्लीराम शर्माको लोकसेवा आयोग, लोकसेवाका राजकुमार श्रेष्ठको प्रधानमन्त्री कार्यालयमा सरूवा भएको छ । यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको सार्वजनिक खरिद अनुगमन कार्यालय, उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्याल सञ्चार मन्त्रालयमा सरुवा भएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दवाडी भने राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा भएको छ भने राष्ट्रिय तथ्यांक कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरूवा भएको छ ।

मन्त्रिपरिषदले प्राकृतिक स्रोत तथा वित्त आयोगमा रक्षाका किरणराज शर्माको सरूवा भएको छ भने वाणिज्य सचिवमा प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव रहेका मधुसुदन बुर्लाकोटीको सरूवा भएको छ ।

यस्तै राष्ट्रपतिको कार्यालयमा नारायण प्रसाद दुवाडी, नेपाल ट्रष्टको कार्यालयमा रामाधार शाह, खानेपानी मन्त्रालयमा प्रमिला देवी बज्राचार्य र जल तथा ऊर्जा आयोगमा सुरेश आचार्यको सरुवा भएको छ ।