काठमाडौँ– हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले हुलास स्टील युनिट–२ उद्योगको स्थापना गरेको छ । कम्पनीले पर्सा जिल्लाको बेल्वामा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा उद्योगको स्थापना गरेको हो ।


ADVERTISEMENT


एक समारोहबीच आपूर्ति तथा उद्योग मन्त्री दामोदर भण्डारी तथा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले संयुक्त रुपमा उक्त उद्योगको उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


कम्पनीले यो उद्योगको स्थापना गरी नेपाल मै पहिलो पटक नयाँ प्रविधिको सबैभन्दा ठूलो र पछिल्लो ग्याल्भानाइजिङ सुविधा र १३ मिटर तातो डिप ग्याल्भेनाइजिङ बाथ जडान गरेको छ ।

हुलास स्टील युनिट– २ उद्योगबाट स्टिल लेटिस टावर, सबस्टेशन संरचना, अष्टभुज पोल, हाई मास्ट पोल, मोनो पोल, स्ट्रीट लाइट पोल, पेनस्टक पाइप, पुल लगायत अन्य विभिन्न प्रकारका स्टीलजन्य वस्तुहरु उत्पादन भइरहेको छ ।

कम्पनीले नेपालमा विद्युतको माग बढी रहेको अवस्थामा ट्रान्समिशन टावर तथा डिस्ट्रिब्युशन टावर आवश्यक पर्ने हुँदा उक्त वस्तुहरु अन्य मुलुकहरुबाट आयात गर्नाले न्यून गुणस्तरीय हुनका साथै निर्माण कार्यमा अत्यधिक ढिलाई भई लागत मूल्यमा वृद्धि हुने भएकाले स्वदेश मै उत्पादन गर्न लागिएको बताएको छ ।

हाल ट्रान्समिशन टावर तथा डिस्ट्रिब्युशन लाइनको विस्तारमा कमी आउँदा लगभग १ हजार मेगावाट विद्युत् खेर गइरहेको पनि उसले बताएको छ ।

हाल दिवाकर गोल्छा अर्गनाईजेसन अन्तर्गत विभिन्न प्रकारका स्टीलजन्य वस्तुहरु उत्पादन गर्दै आएको उक्त कम्पनीले विभिन्न स्थानहरुमा कर्कटजस्तापाता तथा पाईप, जूट, चिनी, खाद्यान्न, आल्मुनियम, स्टील युटेन्सील, जीआई, आल्मुनियम, कप्पर वायर तथा इलेक्ट्रोनिक्स वस्तुहरु उत्पादन गर्दै करिब २० हजार जनालाई रोजगारी प्रदान गरेको बताएको छ।

नेपालको पहिलो स्टील उद्योगका रुपमा स्थापना भएको उक्त कम्पनीले स्थापनाका ४३ वर्षको यात्रामा देशको अर्थतन्त्र र रोजगारी प्रदानमा उल्लेख्य योगदान गरेको बताएको छ ।