काठमाडौं – सहकारी पीडितहरुले बृहत् सडक आन्दोलनको घोषणा गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको राजीनामा माग गरेका छन् । सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आज (सोमबार) रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी दवाबमूलक बृहत्त सडक आन्दोलन गर्न लागिएको जानकारी गराएको हो ।
महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५औं दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडक आन्दोलनको विकल्प रोजिएको बताइएको छ । अध्यक्ष कुशलव केसीले सहकारी पीडितले आफ्नो बचत फिर्ता पाओस् भन्ने मनशायले तेस्रोपटकको आन्दोलन सुरू गरेको १०१औं दिन पुगेको अवसरमा आगामी भदौ १६ गतेबाट बृहत्त आन्दोलन गर्ने बताए । सहकारी पीडितहरु १६ महिनादेखि निरन्तर आन्दोलनमा रहेको र यो अवधिमा सरकारले दुईपटक सम्झौता गरेपनि पीडितको पक्षमा केही काम नभएको उनको भनाई छ ।
उनले सरकारले तत्काल कार्यान्वयन गर्ने भनेर दोस्रोपटक आफूहरुसँग सम्झौता गरेको ५ महिना बितिसकेको बताए । तत्कालिन अवस्थामा आफूहरुले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग सम्झौता गरेको र अहिले पुनः उनी सोही मन्त्रालयको जिम्मेवारीमा आएको बताउँदै अध्यक्ष केसीले अब मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए । मन्त्री अधिकारीलाई पदमा बस्ने नैतिकता नरहेको उनको भनाइ छ ।
‘उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । बलराम अधिकारीज्यूले आफैंले गरेको सम्झौता कार्यान्वयन गर्नसक्ने ल्याकत राख्नुहुन्न भने पदबाट विदा हुँदा नै राम्रो हुन्छ, उहाँले हामीलाई भ्रममा राख्न सम्झौता गर्नुभयो, नैतिकताको आधारमा उहाँले राजीनामा दिनुपर्छ । अब हामी सहेर बस्न सक्दैनौं,’– उनले भने ।
यस्तै नेपाल प्रहरीको पूर्व आइजीपी एवं नेकपा (एमाले) का नेता सर्वेन्द्र खनालले पीडितहरुको आँशु देख्न नसकेर यो अभियानमा जोडिएको बताए । उनले सहकारी ठगहरुलाई राज्यले हत्कडी लगाएर जेलमा कोच्नुपर्ने बताए । नागरिकहरुलाई उपचार गर्न सक्ने अवस्थामा मार्ने र ठगहरु महँगा गाडी चढेर हिँड्ने परिस्थितिको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।
कान्ति भैरव सहकारी पीडितका संयोजक शुवास श्रेष्ठले सो सहकारीमा बचत गरेर पीडित बनेको अमुतकुमार चक्रवतीले हिजो बिहान २ बजेतिर झुण्डिएर आत्महत्या गरेको बताए । सहकारीले बचत फिर्ता नदिएकै कारण चक्रवती डिप्रेसनमा गएको र अन्ततः आत्महत्याको बाटो रोजेको बताए ।
महासंघका कोषाध्यक्ष देवकुमार श्रेष्ठले सहकारी ठगी प्रकरणमा गहन अनुसन्धान गरेर कारबाही गर्दा ५०÷६० जना सांसदहरुको पद जाने दाबी गरे । उनले सहकारीका सञ्चालकले भन्दा पनि नेताहरुले सहकारीको पैसा अपचलन गरेको आरोप लगाए । ‘सहकारी सञ्चालक भनेका पात्रमात्रै हुन् ।
सहकारीको पैसा खाने भनेका यी सिंहदरबारका नेताहरु रहेछन् भन्ने प्रष्ट हुन्छ । बंगलादेशमा त्यहाँका सत्तापक्षलाई जसरी लखेटियो, त्यो भन्दा पनि डरलाग्दो तरिकाले हामी सहकारी पीडित एक जुट भएर हामी सहकारी पीडित, भ्रष्टहरुलाई निश्काशन गर्नेछौं,’– उनले भने ।
किसान सहकारीबाट पीडित बनेकी बचतकर्ता दादृबाबा बज्राचार्य स्थापितले आफूले पैसा नभएर उपचार गर्न नसक्दा श्रीमानको मृत्यु भएको बताइन् । सो सहकारीमा आफ्नो एक करोड ३६ लाख रुपैयाँ बचत रहेको बताईन् । त्यतिधेरै पैसा हुँदा पनि आफूले श्रीमानको उपचार गर्न नसकेको सुनाईन् । आफू पनि क्यान्सरको विरामी रहेको बताउँदै अब पैसा नभए मर्नुको विकल्प नरहेको उल्लेख गरिन् ।



























































