काठमाडौँ- एनसेलले नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्कसँग साझेदारी गर्दै बीवाईडीका सवारीसाधनमा एनसेलको इन्टरनेट अफ थिङ्स (आईओटी) सिममार्फत कनेक्टेड भेहिकल सेवा उपलब्ध गराउने भएको छ।


ADVERTISEMENT


साझेदारीअन्तर्गत नेपालमा बिक्री हुने कम्प्याटिबल बीवाईडी सवारीसाधनमा एम्बेडेड एनसेल आईओटी सिम जडान गरिनेछ। यसले मोबाइल फोन वा छुट्टै वाई–फाई हटस्पटको आवश्यकता बिना नै गाडीभित्र प्रत्यक्ष इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउनेछ।


ADVERTISEMENT

# # #


आईओटी सिममार्फत बीवाईडी एप इकोसिस्टम तथा कनेक्टेड इन्फोटेनमेन्ट सुविधाहरू प्रयोग गर्न सकिनेछ। ग्राहकले गाडीको सिस्टमबाटै युट्युब, स्पोटिफाइ, काराओकेलगायत विभिन्न अनलाइन सेवा तथा डिजिटल मनोरञ्जनको सुविधा लिन सक्नेछन्।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले यो साझेदारीले बीवाईडीका सवारीसाधनमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा तथा इन्टेलिजेन्ट मोबिलिटीको सुविधा थप गर्ने बताए। उनका अनुसार स्थानीय नेटवर्कमा प्रत्यक्ष कनेक्ट हुँदा यात्रा तथा ट्राफिकका क्रममा नेभिगेसनलगायतका सेवासमेत थप भरपर्दो हुनेछन्।

यो सुविधा नयाँ बीवाईडी खरिदकर्तामा मात्र सीमित रहने छैन। यसअघि नै बीवाईडीका सवारीसाधन प्रयोग गरिरहेका ग्राहकले पनि नेपालभरका १३ स्थानमा रहेका बीवाईडीका आधिकारिक सर्भिस सेन्टरमा गएर आफ्नो गाडीमा एनसेल आईओटी सिम जडान गरी उपलब्ध सुविधाहरू प्रयोग गर्न सक्नेछन्।

साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले एनसेलसँगको सहकार्यले बीवाईडी ग्राहकको सवारी स्वामित्व अनुभवलाई थप उन्नत बनाउने बताए। भरपर्दो इन–भेहिकल कनेक्टिभिटीले बीवाईडीका स्मार्ट तथा इन्टेलिजेन्ट सुविधाको प्रभावकारी उपयोगमा सहयोग पुग्ने उनको भनाइ छ।

आईओटी सिमको कनेक्टिभिटी योजना, अवधि तथा शुल्क भने सवारीसाधन वा सेवा प्याकेजअनुसार फरक हुने बताइएको छ। उपलब्ध सुविधा गाडीको मोडल, सफ्टवेयर संस्करण, नेटवर्क कभरेज, स्थान तथा नेपालमा उपलब्ध सेवाअनुसार फरक पर्न सक्नेछ।