काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया रोक्ने अधिकार कसैलाई नभएको स्पष्ट पारेका छन्। पार्टीभित्र असहमति राख्न पाउने अधिकार सबैलाई भए पनि महाधिवेशनको निर्धारित प्रक्रिया अवरुद्ध गर्ने छुट कसैलाई नरहेको उनले बताएका छन्।


ADVERTISEMENT


सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठक समापन गर्दै सभापति थापाले नेतृत्वप्रति असन्तुष्टि वा राजनीतिक असहमति भए त्यसलाई महाधिवेशनको लोकतान्त्रिक प्रक्रियामार्फत समाधान गर्नुपर्ने बताएका छन्। आफू वा नेतृत्वको कार्यशैलीप्रति चित्त नबुझे महाधिवेशनमा आएर खुला रूपमा प्रतिस्पर्धा गर्न उनले चुनौतीसमेत दिएका छन्।


ADVERTISEMENT

# # #


थापाले विशेष महाधिवेशनबाट चयन भएको वर्तमान नेतृत्व, निर्वाचन आयोगमा अद्यावधिक विवरण तथा अदालतको डिभिजन बेन्चको फैसलाले महाधिवेशनको प्रक्रिया कानुनी रूपमा स्पष्ट रहेको दाबी गरेका छन्। पार्टीभित्र देखिँदै आएको आरोप–प्रत्यारोप, गुटगत गतिविधि र आन्तरिक विवादलाई लामो समयसम्म निरन्तरता दिन नहुने उनको भनाई छ।

उनको पुराना तथा नयाँ सबै नेताहरू एक ठाउँमा उभिएर पार्टी निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन्। पार्टीभित्रको असहमति र मतभेदलाई विभाजनको कारण बनाउनुभन्दा लोकतान्त्रिक विधिबाट समाधान खोज्नुपर्ने उनले बताएका छन्।

सभापति थापाले असोज १६ गतेदेखि नेपाली कांग्रेसको १५औँ महाधिवेशन निश्चित रूपमा सुरु हुने दाबी गर्दै कुनै पनि ‘किन्तु–परन्तु’ बिना महाधिवेशन सम्पन्न गरिने बताए। मंगलबारदेखि नै वडा तहबाट महाधिवेशनको प्रक्रिया विधिवत् रूपमा अघि बढ्ने उनले जानकारी दिएका छन्।

महाधिवेशन सफल बनाउन वर्तमान सभापतिको भूमिका पनि महत्वपूर्ण हुने उल्लेख गर्दै थापाले पार्टीभित्र ‘विशेष’ र ‘नियमित’ महाधिवेशनको नाममा विभाजन सिर्जना गर्न नहुने बताएका छन्। पार्टीका बैठक, भेला तथा छलफललाई आन्तरिक लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने उनको भनाई छ।