काठमाडौं – दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
नेपाली सेनाको हेलिकप्टर मार्फत डाँगीसहित अन्य ३ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सवारी चालक र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका रजिष्ट्रार तारादत्त बडुलाई भने थप उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक माधव काफ्लेले हिमालयपोष्टलाई जानकारी दिए ।
प्रवक्ता उपरीक्षक काफ्लेका अनुसार भीमफेदी–६, जुरिखेलमा बिहान स्कारपियो दुर्घटनामा न्यायाधीश तुलसीपुर–९ का ५७ वर्षीय डाँगीसहित चालक दाङ राप्ती–८ का ३२ वर्षीय छुनिलाल चौधरी, बैतडी दशरथचन्द–७ का ५१ वर्षीय तारादत्त बडु, उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा २५ वर्षीय रितेन्द्र बडु र दिदी ३१ वर्षीया रिता बडु रहेका छन्।
प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो मंगलबार बिहान काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गर्दा सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना भएको थियो।




























































