काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक कानुनहरु निर्माणमा ध्यान केन्द्रित गरेको बताएकी छन् ।
बुधबार सिंहदरबारमा पत्रकारहरुसंग छलफल गर्दै मन्त्री भट्टराईले एकीकृत उच्च शिक्षा विधेयकलाई छिटै ल्याउने तयारी भइरहेको समेत बताइन्े ।
शिक्षा विधेयक ल्याउन सके शिक्षामा सुधार ल्याउन सकिने उनले जनाए । भट्टराईले आफ्नै ऐन कानुनबाट स्वायत्त भएर सञ्चालन भएका विश्वविद्यालयहरुलाई राज्य र समाजसँग जोड्दै अझ विशिष्टीकृत र सामाजिक बनाउन सकिने धारणा राखिन्े ।
उनले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार गरिएको समेत जानकारी दिए । उनले नेपालमा नै चाहेको जस्तो शिक्षा प्राप्त गर्ने वातावरण बनाउदै बाहिर गएका विद्यार्थीहरुलाई पनि फर्काउन पहल गरिने जनाइन् । उनले विश्वविद्यालयका पदाधिकारीलाई औचित्यका आधारमा थप जिम्मेवार बनाइने पनि बताइन्।
मन्त्री भट्टराईले जनक शिक्षा सामग्री केन्द्रलाई देशभर समयमै पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएको, समकक्षता प्रमाणपत्र एक साताभित्र उपलव्ध गराउने व्यवस्था गरिएको जानकारी दिइन् ।



























































