काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यसमितीको बैठकले १० महत्वपूर्ण निर्णय गरेको छ । बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमितीको बैठक गत जुनमा वेष्टइण्डिज र अमेरिकामा भएको पुरुष टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टोलीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


बैठकले विश्वकपमा सहभागी खेलाडीहरु र मुख्य प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ र अन्य टोली सहयोगीहरुलाई जनही १ लाख ५० हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।


ADVERTISEMENT

# # #


यस्तै बैठकले ७ वटै प्रदेश क्रिकेट संघहरुलाई २ जना महिला र ३ जना पुरुष गरी प्रति प्रदेश ५ जना खेलाडीहरुलाई यहि सेप्टेम्बर १ देखि लागु हुने गरी १ वर्षसम्म जनही मासिक १५ हजारका दरले मासिक पारिश्रमिक उपलब्ध गराउने गरी बजेट निकाशा गर्ने निर्णय गरेको छ । कूल ३५ जना खेलाडीहरुको पारिश्रमिक वापतको बजेट रकम प्रदेशहरुमा निकासा गरी सम्वन्धित प्रदेशहरुले नै खेलाडीसँग सम्झौता गरी पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिएको हो ।

यस्तै आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१, २०२४ सम्म काठमाडौँमामा आयोजना गर्न लागिएको नेपाल प्रिमियर लिग (एनपीएल) मा ८ फ्रेन्चाईज टीमहरुको सहभागिता रहने निर्णय गरिरेको छ भने वाई–वाई यु १९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता यहि सेप्टेम्बर÷अक्टोबरमा कोशी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको प्रवक्ता लामाले बताए ।

यस्तै क्यानको वार्षिक कार्यक्रम अनुसार संचालन गरिने एलिट कप क्रिकेट प्रतियोगिता यही अक्टोवर अन्तिम सातादेखि मधेश प्रदेशको जनकपुर र विरगंजमा आयोजना गर्ने निर्णय गरिएको छ भने आईसीसी यू–१९ महिला विश्वकप एशिया छनोटको तयारी स्वरुप यहि सेप्टेम्बर १५ बाट दाङको लमहीमा प्रथम चरणको बन्द प्रशिक्षण संचालन गर्ने निर्णय समेत क्यानले गरेको छ ।

यस्तै क्यानले लेख क्षेत्रीको संयोजकत्वमा युनिल श्रेष्ठ र मुर्तुजा हवारी सदस्य रहने गरी ३ सदस्यीय राष्ट्रिय छनौट समिती गठन गरेको छ भने संघको वार्षिक साधारणसभा आगामी असोज ११ र १२ गतेपोखरामा आयोजना गर्ने निर्णय गरिएको छ ।

बैठकले म्याच फिक्सिङमा अदालतबाट सफाई पाएका निलम्बित राष्ट्रिय क्रिकेट खेलाडी आदिल आलमको निलम्बन फुकुवा प्रकृया बारे संघको अनुशासन समितीबाट प्राप्त प्रतिवेदनका सम्वन्धमा छलफल गरेको छ ।

उक्त प्रतिवेदन एवंम आवश्यक कागजातहरु क्यानको इन्टिग्रीटी कमिटीका संयोजक मार्फत आईसीसी एन्टी करप्सन युनिटमा पेश गरी आईसीसीबाट प्राप्त निर्देशन अनुसार संघबाट निर्णय गर्ने सहमती समेत क्यानले गरेको छ ।