काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को स्वामित्वमा नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौँमा आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० फ्रेन्चाइज्ड क्रिकेट प्रतियोगिताका लागि ८ जना मार्की खेलाडी घोषणा भएका छन् ।
क्यानले शुक्रबार एनपीएलमा भाग लिने ८ टोलीका लागि ८ जना मार्की खेलाडी घोषणा गरेको हो । मार्की खेलाडी घोषणा भएकाहरुमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल, पूर्वकप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी रहेका छन् । यस्तै करण केसी, कुशल भुर्तेल, आशिफ शेख र कुशल मल्ल पनि मार्की खेलाडी घोषित भएका छन् ।
प्रत्येक टोलीले एक जना मार्की खेलाडी लक्की ड्र मार्फत प्राप्त गर्नेछन् । मार्की खेलाडी टोलीका सम्भावित कप्तान हुन् । प्रत्येक मार्की खेलाडीले आफ्नो टिममा कम्तिमा तीन वर्षसम्म बिताउनुपर्ने शर्त राखिएको छ । टिमले आफ्नो मार्की खेलाडीलाई प्रत्येक वर्ष रिटेन गर्ने वा रिलिज गर्ने छुट पाउने क्यानले जनाएको छ ।
क्यानले एनपीएलमा सहभागी हुने नेपालका विभिन्न ८ सहरहरु काठमाडौँ, चितवन, विराटनगर, जनकपुर, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको नामका ८ टोलीको टुंगो लागिसकेको छ । जसको स्वामित्वका लागि क्यानले भदौ २० गते अक्सनबाट टुंगो लगाएको थियो ।
अक्सनमा पोखराको फ्रेन्चाइज्ड सबैभन्दा महंगोमा विक्री भएको थियो भने कर्णालीको सबैभन्दा सस्तोमा लिलाम भएको छ । पोखरालाई नेपाल टी–२० प्रा.लि.ले ३ करोड ५७ लाखमा खरिद गरेको थियो भने कर्णालीलाई हिमालयन बिल्डर्स एण्ड इन्जिनियरिङ प्रालिले १ करोड ११ लाख ७० हजारमा खरिद गरेको थियो ।
यसअघिको नेपाल टी–२० विवादमा परेपछि क्यानले आफ्नै स्वामित्वमा एनपीएल गर्न लागेको हो ।



























































