काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले गोर्खा मिडियामा रहदा रवि लामिछानले सहकारीबाट आएको रकमबाट संस्था संचालन गरेकाले दोषी होइनौ भन्ने कुरा गैरजिम्मेवार भएको समेत बताएका छन् ।
सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले सहकारीकै रकमबाट गोर्खा मिडिया चलेको देखिएकाले दोषी को हो भन्ने स्पष्टै रहेको बताए । उनले गोर्खा मिडियामा ऋण प्रवाह भएको सहकारीको रकम प्रयोग गर्नेहरु कारवाहीको दायरामा आउने बताएका छन् ।
‘अन्तिम प्रतिवेदन संसदमा पेश भएर सभामुखले कार्यार्थ पठाइसकेको अवस्थामा उहाँ (रवि)ले कसरी क्लिन चिट पाएँ भन्नुभो थाहा छैन । गोर्खा मिडियाले ८५ करोड रुपैयाँ सहकारीबाट लिएको छ र अन्य कहीँबाट पनि आएको छैन’ उनले भने, ‘सदस्य बाहेकले लिनै नमिल्ने पैसा लिएर कहाँ के गर्नुभो, तै पनि हामी दोषी हुँदै होइनौँ भनेर निर्धक्क घोषणा गर्दै हिड्नुहुन्छ भने त्यो भन्दा गैरजिम्मेवार कुरा के हुन सक्छ ?’
प्रवक्ता महतले सरकारले प्रतिवेदनका आधारमा दोषीमाथि कारवाही चलाउने जिकिर गरे । उनले सहकारी छानविन समितिको प्रतिवेदन छिटै सार्वजनिक हुने उल्लेख गरे ।



























































