काठमाडौँ – प्रतिक्षीत चलचित्र ‘झिल्को’को ‘फर्स्ट लुक’ सार्वजनिक भएको छ । सफल चलचित्र ‘झोला’का निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको फिल्मले शुक्रबार फर्स्ट लुक’ सार्वजनिक गर्नुका साथै प्रदर्शन मिति समेत घोषणा गरेको हो ।
सार्वजनिक फर्स्ट लुकमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाललाई देख्न सकिन्छ । फिल्म पुस ५ गतेबाट देशभरि प्रदर्शन हुने निर्देशक भट्टराईले जानकारी दिए । उनका अनुसार फिल्म डिजिटल प्रविधिको प्रयोग र त्यसले व्यक्तिगत र सामाजिक जीवनमा ल्याउने समस्या र कठिनाईको विषयमा निर्माण भएको छ ।
‘आजको समाज डिजिटल समाजका रुपमा निर्माण भैसकेको छ । डिजिटल युगमा प्रवेश गरिरहेकारबाँचिरहेका हामीहरूले के विवेकपूर्ण व्यवहार गरेका छौँरु ग्याजेटहरूलाई प्रयोग गरिरहँदा हाम्रो अवस्था के छ ?’ उनले भने, ‘आज बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई गम्भीर रूपमा गाँजेको र ठूलो समस्याका रूपमा विकास हुँदै गएको दुर्व्यसनी डिजिटल दुर्व्यसनी हो । यही संवेदनशील विषय झिल्कोको कथा हो ।’
उनले थपे, ‘आजको दिनमा सबैभन्दा ठूलो कुलत मोबाइल ग्याजेट हुन्, जसको कुलतमा फसेर एउटा परिवारले कति संघर्ष गर्नुपर्छ भन्ने सामाजिक व्यवसायिक चलचित्र बनाउने प्रयास हामीले गरेका छौँ ।’ यसअघि फिल्म ‘झोला’ र ‘भोर’को सफल निर्देशन गरिसकेका भट्टराईको यो तेस्रो फिल्म हो ।
फिल्मका निर्माता सुशीला आचार्य र रामगोपाल थापा रहेका छन् भने कार्यकारी निर्माता उमेश पौडेल हुन्। यस्तै फिल्ममा पटकथा भट्टराई, अरुणदेव जोशी, र देवव्रतको रहेको भने दीपक बज्राचार्यले छायांकन गरेका छन् ।


























































