काठमाडौँ– विश्व बसोबास दिवस कर्मशील युवा ः समुन्नत शहर भन्ने नाराका साथ सोमबार मनाइएको छ ।
यूएन ह्याबिट्याटले प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोवास दिवस मनाउने गरेकोमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो ।
दिवसका अवसरमा शहरी विकास मन्त्रालयले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मौलिक हकको रुपमा व्यवस्था भए अनुसार सीमान्तकृत घरबारविहीन सामाजिक आर्थिक रूपले पछि परेका नागरिकहरूको आवासको सुनिश्चितताको प्रत्याभूति गरिएको बताए ।
उनले जनता आवास कार्यक्रम, सुरक्षित आवास कार्यक्रम तथा बस्ती विकास कार्यक्रमहरू सञ्चालन गरी ग्रामिण क्षेत्रका नागरिकलाई समेत व्यवस्थित आवासमा पहुँच सुनिश्चित गर्ने काम सरकारले गरेको जानकारी दिए ।
सबैको लागि समावेशी र दिगो आर्थिक वृद्धि पूर्ण उत्पादक मूलक र सम्मान जनक रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यलाई पुरा गर्न सवै तहका सरकार निरन्तर प्रयासरत रहेको उनले बताए ।
राष्ट्र सङ्घले सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार यो दिवस मनाउन थालेको हो । नेपालले भने सन् २००१ देखि दिवस मनाउन थालेको हो । संविधानसभाबाट २०७२ असोज ३ गते जारी भएको संविधानको मौलिक हकमा आवासको हक सुरक्षित गरिएको छ ।


























































