काठमाडौं- डिजिटल शासन, विपद् प्रतिकार्य, डेटा, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल पूर्वाधार, नवप्रवर्तन तथा डिजिटल अर्थतन्त्रका विभिन्न पक्षमा गहन छलफल गर्दै डिजिटल नेपाल कन्क्लेभ २०२६ सम्पन्न भएको छ।


ADVERTISEMENT


आईसीटी फाउन्डेसन नेपालले आयोजना गरेको पाँचौँ संस्करणको कन्क्लेभ ललितपुरको पुल्चोकस्थित द प्लाजामा आइतबार सम्पन्न भएको हो।


ADVERTISEMENT

# # #


‘बिल्डिङ डिजिटल रेजिलियन्स : रिडिफाइनिङ द गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ मूल विषयमा आयोजित कन्क्लेभमा डिजिटल प्रणालीलाई विपद्का समयमा समेत प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने बनाउनेदेखि डेटा, एआई र डिजिटल अर्थतन्त्रको विकाससम्मका विषयमा छलफल गरिएको थियो।

कन्क्लेभमा सरकार, संसद्, स्थानीय तह, निजी क्षेत्र, प्रविधि उद्योग, स्टार्टअप, लगानीकर्ता, प्राज्ञिक क्षेत्र, विकास साझेदार तथा युवा नवप्रवर्तकको सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यक्रममा ५० भन्दा बढी विज्ञ वक्ता र ६०० भन्दा बढी सहभागी सहभागी भएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै आईसीटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले डिजिटल नेपाल कन्क्लेभले डिजिटल रूपान्तरण र पारिस्थितिक प्रणाली विकासका लागि नीतिगत सुधार तथा डिजिटल एजेन्डालाई प्राथमिकतामा राख्ने अभियानमा काम गरिरहेको बताएका छन्।

 उनले सरकार, सरोकारवाला, नीतिनिर्माता, विकास साझेदार संस्था, निजी क्षेत्र, उद्यमी तथा नवप्रवर्तकलाई एउटै मञ्चमा जोड्दै सकारात्मक परिवर्तनका लागि सहकार्य गरिरहेको बताए।

कन्क्लेभले विपद्का समयमा समेत प्रभावकारी रूपमा सञ्चालन हुन सक्ने डिजिटल प्रणाली, विश्वसनीय तथ्यांक, नागरिककेन्द्रित डिजिटल सेवा र जिम्मेवार कृत्रिम बुद्धिमत्ता प्रयोगमार्फत नेपाललाई थप उत्थानशील डिजिटल राष्ट्रका रूपमा विकास गर्ने विषयलाई केन्द्रमा राखेको थियो।

कार्यक्रममा चार प्रमुख विषयगत प्यानल, चार किनोट प्रस्तुति, विभिन्न ‘डिजिटल स्पार्क’ प्रस्तुति तथा समापन नेतृत्व संवाद आयोजना गरिएको थियो। त्यस्तै, २५ भन्दा बढी नवप्रवर्तनको प्रदर्शनी तथा १० वटा स्टार्टअप आइडिया पिचिङ समेत गरिएको थियो। टिङटिङ र थर्ड फ्याक्टर एआईले ‘एआई एक्सपेरियन्स जोन’ समेत प्रस्तुत गरेका थिए।

विपद्का समयमा पनि प्रभावकारी डिजिटल प्रणालीमा जोड

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा मात्र सीमित नगरी विपद् तथा संकटका समयमा समेत नागरिकलाई निरन्तर सेवा, सूचना र सञ्चार उपलब्ध गराउन सक्ने दिगो तथा उत्थानशील डिजिटल प्रणाली निर्माणमा जोड दिनुपर्ने बताएका छन्।

उहाँले संकटका समयमा सूचना पूर्वाधार भौतिक पूर्वाधारजत्तिकै महत्वपूर्ण हुने, सञ्चार यातायातजत्तिकै आवश्यक पर्ने र विश्वसनीय तथ्यांक निर्णय प्रक्रियाको आधार बन्ने बताए।

रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीले भौतिक पूर्वाधारसँगै सूचना प्रणाली, सञ्चार सञ्जाल, संस्थागत समन्वय तथा संकटका समयमा राज्यको तयारीको समेत परीक्षण गरेको उनको भनाइ छ।

मन्त्री तिमिल्सिनाले विश्वसनीय सूचना, समावेशी कनेक्टिभिटी, सरकारी निकायबीच अन्तरसञ्चालन, नागरिक केन्द्रित डिजिटल सेवा तथा डेटा शासन र एआईको जिम्मेवार प्रयोगलाई डिजिटल विकासका महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेका छन्।

प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकालले सरकारले सुरुदेखि नै डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको बताउँदै डिजिटल गभर्नेन्समार्फत सुशासनलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो। उनले नागरिक एपमार्फत सार्वजनिक सेवाहरूलाई थप प्रभावकारी बनाउने र एकीकृत सेवा सञ्चालनमा जोड दिइएको बताएका छन्।

डिजिटल सार्वजनिक सेवा र विपद् प्रतिकार्यमा छलफल

कन्क्लेभको दोस्रो प्रमुख खण्ड ‘डिजिटल पब्लिक सर्भिसेज : द गेटवे फर डिजास्टर रेस्पोन्स’ शीर्षकमा सञ्चालन भएको थियो।

यस सत्रमा डिजिटल सार्वजनिक सेवामार्फत विपद् पूर्वतयारी, प्रतिकार्य तथा पुनःस्थापनालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो।

यसै क्रममा ‘प्याराडाइम्स अफ डेटा गभर्नेन्स : के नागरिक एप नेपालको डिजिटल गेटवे एन्ड डिजास्टर अलर्ट हब बन्न सक्छ?’ विषयमा प्यानल छलफल भएको थियो।

प्यानलमा नागरिक एपलाई डिजिटल सार्वजनिक सेवाको प्रवेशद्वारका रूपमा विस्तार गर्ने सम्भावना, तथ्यांकको जिम्मेवार व्यवस्थापन, स्थानीय तहको भूमिका, डिजिटल अधिकार, वित्तीय सेवासँग सहकार्य तथा विपद् सूचना प्रणालीलाई एउटै डिजिटल संरचनासँग जोड्ने विषयमा बहस गरिएको थियो।

एआई क्षमता र डेटा सार्वभौमिकतामा जोड

कन्क्लेभको तेस्रो प्रमुख खण्ड ‘एआई सार्वभौमिकता एन्ड डेटा : इन्टेलिजेन्स फर अ रेजिलियेन्ट नेसन’ रहेको थियो।

यस सत्रमा राष्ट्रिय डेटा सार्वभौमिकता, एआई पूर्वाधार, डेटा व्यवस्थापन, जिम्मेवार तथा नैतिक एआई प्रयोग, नीतिनिर्माण र राष्ट्रिय एआई क्षमता विकासलाई केन्द्रमा राखेर छलफल गरिएको थियो।

काठमाडौं विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिङका डिन प्रा. डा. बालकृष्ण बलले डिजिटल सार्वजनिक पूर्वाधार तथा नैतिक एआईसम्बन्धी किनोट प्रस्तुति दिनुभएको थियो।

त्यसपछि ‘बिल्डिङ नेपालको एआई सार्वभौमिकता : इन्फ्रास्ट्रक्चर, डेटा, गभर्नेन्स’ विषयमा प्यानल छलफल गरिएको थियो।

नेपालले आफ्नै डेटा, पूर्वाधार र संस्थागत क्षमतामा आधारित जिम्मेवार एआई पारिस्थितिक प्रणाली कसरी निर्माण गर्न सक्छ भन्ने विषयमा सहभागीहरूले धारणा राखेका थिए। एआईको प्रयोगसँगै डेटा सुरक्षा, शासन, पूर्वाधार, नीति र दक्ष जनशक्ति विकासलाई समान रूपमा अघि बढाउनुपर्नेमा समेत जोड दिइएको थियो।

डिजिटल अर्थतन्त्र, लगानी र नवप्रवर्तनमा बहस

कन्क्लेभको चौथो प्रमुख खण्ड ‘द डिजिटल इकोनोमी इन्जिन : प्रोस्पेरिटी थ्रु सस्टेनेबल इनोभेसन’ शीर्षकमा सञ्चालन भएको थियो।

यस सत्रमा डिजिटल नवप्रवर्तन, लगानी, वित्तीय प्रविधि, पारदर्शिता, उद्यमशीलता तथा भविष्यका लागि आवश्यक डिजिटल जनशक्तिका विषयमा छलफल गरिएको थियो।

त्यसैगरी, ‘अनलकिङ डिजिटल नेपाल : एडभान्सिङ डिजिटल ट्रान्सपरेन्सी, इनोभेसन एन्ड डिजिटल इकोनोमी’ विषयमा प्यानल छलफल भएको थियो।

प्यानलमा डिजिटल रूपान्तरणसँगै पारदर्शिता, लगानी, नवप्रवर्तन, वित्तीय प्रविधि, डिजिटल अर्थतन्त्र तथा आवश्यक डिजिटल जनशक्ति विकासका विषयमा छलफल गरिएको थियो। नेपालमा प्रविधिमा आधारित उद्यमशीलता विस्तार, लगानीको वातावरण सुदृढीकरण तथा नवप्रवर्तनलाई आर्थिक वृद्धिसँग जोड्ने सम्भावनामा पनि बहस केन्द्रित भएको थियो।

नेपाली प्रविधि र नवप्रवर्तनको प्रदर्शन

कन्क्लेभमा नीति तथा संवादसँगै नेपालमा विकास भएका प्रविधि तथा डिजिटल समाधानलाई प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने ‘डिजिटल स्पार्क’ सत्रसमेत सञ्चालन गरिएको थियो।

विभिन्न चरणमा टिङटिङ, कोड एक्स स्कुल, थर्ड फ्याक्टर एआई, नागरिक एप, काटा हो, नास–आईटी, आईआईडी, शिक्षा डेटा एन्ड फाइन्डिङ्स, सोसियर ई–कमर्स, लिपि वन, एभरेस्ट क्लाउड, एन्कोडा ल्याब र स्काई आईटीलगायतका प्रविधि तथा नवप्रवर्तनसम्बन्धी प्रस्तुति र समाधानहरू प्रस्तुत गरिएको थियो।

टिङटिङले टिङटिङ ओम्नी लाइभ इन्टरएक्सन, टिङटिङ आउटबाउन्ड र टिङटिङ रेस्पोन्सिभ एजेन्टलगायतका समाधानको प्रत्यक्ष प्रदर्शन गरेको थियो।

२०२७ को डिजिटल रोडम्यापमा छलफल

कन्क्लेभको अन्तिम चरणमा ‘लिडरसिप डायलग : डिजिटल रोडम्याप टु २०२७’ शीर्षकको नेतृत्व संवाद तथा पावर संवाद आयोजना गरिएको थियो।

यस चरणमा डिजिटल उद्योग, नवप्रवर्तन र लगानीलाई गति दिने विषयमा छलफल गरिएको थियो। साथै ‘बिल्डिङ डिजिटल रेजिलियन्स : अनलकिङ नेपालको टेक इन्डस्ट्री एन्ड स्टार्टअप पोटेन्सियल’ शीर्षकमा समापन विशेष मन्तव्य प्रस्तुत गरिएको थियो।

पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य जगदीश खरेलले प्रविधि तथा नवप्रवर्तनप्रति बढ्दो चासोको चर्चा गर्दै बिहानदेखि साँझसम्म कार्यक्रममा सहभागीको निरन्तर उपस्थितिले नेपालमा सूचना प्रविधि क्षेत्रप्रतिको रुचि र सम्भावना देखाएको बताएका छन्। उनले प्रविधि तथा आईसीटी क्षेत्रको विकासका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कन्क्लेभले डिजिटल नेपालका आगामी दिशा, नेतृत्व, नीतिगत प्राथमिकता तथा कार्यान्वयनबारे उच्चस्तरीय संवादको वातावरण निर्माण गरेको थियो। यसले डेटा, डिजिटल शासन, डिजिटल अर्थतन्त्र र प्रविधि उद्योगलाई अलग–अलग विषयका रूपमा नभई परस्पर जोडिएका राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने धारणा प्रस्तुत गरेको छ।

कार्यक्रममा सहभागी तथा विशिष्ट व्यक्तित्वलाई मायाको चिनोसहित ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो। समापनमा त्रिभुवन विश्वविद्यालयको आईटी इनोभेसन सेन्टरका निर्देशक प्रा. डा. सुवर्ण शाक्यले धन्यवाद मन्तव्य दिएका थिए।

डिजिटल नेपाल कन्क्लेभ २०२६ ले विशेषगरी विपद्का समयमा समेत निरन्तर सञ्चालन हुन सक्ने डिजिटल प्रणाली, विश्वसनीय डेटा, नागरिककेन्द्रित डिजिटल सार्वजनिक सेवा, जिम्मेवार एआई, डिजिटल नवप्रवर्तन र दिगो डिजिटल अर्थतन्त्र निर्माणका विषयलाई केन्द्रमा राख्दै सम्पन्न भएको छ।