काठमाडौं-एभरेस्ट बैंकले शाखा विस्तारलाई निरन्तरता दिँदै सुदूरपश्चिम प्रदेशको कैलालीस्थित धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा आफ्नो १३४औँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सोही अवसरमा सुदूरपश्चिम प्रदेशमा निर्माण गरेको नयाँ भवनको समेत उद्घाटन गरेको छ।


ADVERTISEMENT


असोज ५ गते आयोजित समारोहमा धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंक सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा शाखा तथा नयाँ भवनको उद्घाटन गरेका हुन्।


ADVERTISEMENT

# # #


नयाँ शाखा सञ्चालनमा आएसँगै सुदूरपश्चिम प्रदेशमा एभरेस्ट बैंकका शाखा संख्या १५ पुगेका छन्। बैंकले सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालयलाई समेत नयाँ भवनमा स्थानान्तरण गरी सम्पूर्ण सेवा सोही भवनबाट प्रदान गर्ने जनाएको छ।

उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिका–८ का वडाध्यक्ष जुगाराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, विभिन्न उद्योगी–व्यवसायी, बैंकका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

बैंकका अनुसार आफ्नै भवनबाट शाखा सञ्चालनमा आएपछि क्याम्पस चोक तथा आसपासका क्षेत्रमा बैंकिङ सेवा थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ। शाखाले स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई आवश्यक बैंकिङ सेवा उपलब्ध गराउँदै क्षेत्रको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग गर्ने बैंकको विश्वास छ।

नयाँ शाखा विस्तारसँगै स्थानीय आर्थिक गतिविधि वृद्धि हुनुका साथै समग्र क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने बैंकले जनाएको छ। बैंकले ग्राहकको आवश्यकता र क्षेत्रको सम्भावनालाई मध्यनजर गर्दै आगामी दिनमा पनि बैंकिङ पहुँच विस्तारलाई निरन्तरता दिने जनाएको छ।