काठमाडौँ– प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल पनि सहभागी छन् ।
बैठकमा शान्ति प्रक्रियालाई टुंग्याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।



























































