काठमाडौं – सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।


ADVERTISEMENT


सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्रकुमार मेहता तथा सिराहाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।


ADVERTISEMENT

# # #


बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ।

त्यस्तै, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताएका छन्।

सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स तथा शववाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्णरूपमा छुट दिने निर्णय पनि गरेको छ।

यसैगरी, पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

सरकारका प्रवक्ता पोखरेलका अनुसार विभिन्न घटनाका विषयमा छानबिन गर्न गठित समिति तथा आयोगका केही प्रतिवेदन सार्वजनिक भइसकेका छन् भने बाँकी प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा सरकार रहेको छ।