काठमाडौं- नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
मंगलबार बिहान उद्घाटन भएको एक्स्पोमा ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल तथा मोबिलिटी ब्रान्ड सहभागी छन्। एक्स्पोमा नयाँ सवारीसाधन, विद्युतीय गाडी, अत्याधुनिक अटोमोबाइल प्रविधि, चार्जिङ प्रणाली तथा दिगो यातायातसँग सम्बन्धित उत्पादन र प्रविधि प्रदर्शनमा राखिएका छन्।
एक्स्पोको उद्घाटन कार्यक्रममा नेपाल सरकारका विशिष्ट पदाधिकारी, विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि, उद्योगी–व्यवसायी, संघसंस्थाका पदाधिकारी, नाइमा प्रतिनिधि तथा अटोमोबाइल क्षेत्रका विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो।
छ दिनसम्म चल्ने एक्स्पोमा सवारीसाधन तथा प्रविधिको प्रदर्शनीसँगै सिकाइ सत्र, नीतिगत संवाद तथा उद्योग अन्तरक्रियासमेत आयोजना भइरहेका छन्। ती कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, उद्योगका नेतृत्वकर्ता, व्यवसायी, विद्यार्थी तथा अन्य सरोकारवालाबीच मोबिलिटी क्षेत्रका नयाँ प्रविधि, नीति, चुनौती र भविष्यका सम्भावनाबारे छलफल हुनेछ।
नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो नेपालको मोबिलिटी क्षेत्रको वर्तमान अवस्था देखाउने प्रदर्शनी मात्र नभई भविष्यको दिशा तय गर्ने महत्वपूर्ण मञ्च भएको बताइन्। उनले प्रविधि, नवप्रवर्तन तथा दिगो मोबिलिटीका क्षेत्रमा भएका पछिल्ला विकास नेपाली उपभोक्तासमक्ष ल्याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको बताइन्।
एक्स्पो तयारी समितिका अध्यक्ष गौरव सारडाले प्रदर्शनीसँगै सिकाइ, तालिम तथा जनचेतनामूलक कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको बताए। उनका अनुसार उद्योगका विज्ञ, विद्यार्थी, व्यवसायी तथा सरोकारवालाबीच ज्ञान र अनुभव आदानप्रदान गराउने उद्देश्य राखिएको छ।
नाइमा कार्यकारी निर्देशक राजकुमार दुलालले एक्स्पोलाई प्रदर्शनीसँगै सिकाइ र जनचेतनाको केन्द्रका रूपमा विकास गरिएको बताए। उनले एक्स्पो अवधिभर सञ्चालन हुने विभिन्न सिकाइ सत्र, नीतिगत संवाद तथा उद्योग अन्तरक्रियामा सहभागी हुन आग्रह गरेका छन्।
उद्घाटनका दिन एक्स्पो दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म खुला रहने व्यवस्था गरिएको छ भने बाँकी दिनमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणले एक्स्पो अवलोकन गर्न सक्नेछन्।
एक्स्पोमा ग्लोबल आइएमई बैंक सह–प्रायोजक, रेडबुल पावर पार्टनर तथा एनएमबी बैंक र सिद्धार्थ बैंक बैंकिङ पार्टनरका रूपमा रहेका छन्। त्यस्तै विभिन्न कम्पनीहरू बीमा, प्रविधि, शिक्षा, चार्जिङ, हाइड्रोजन, स्वास्थ्य, सर्भिसिङ, अग्नि सुरक्षा, टिकटिङ, क्यूआर तथा डिजिटल साझेदारका रूपमा सहभागी छन्।
नेपालमा विद्युतीय सवारी तथा नयाँ मोबिलिटी प्रविधिको प्रयोग बढिरहेका बेला आयोजना भएको एक्स्पोले उपभोक्तालाई नयाँ सवारीसाधन तथा प्रविधिबारे प्रत्यक्ष जानकारी लिन र विभिन्न ब्रान्ड तथा मोडलको अवलोकन गर्न अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।



























































