काठमाडौँ– बालिकालाई यौनधन्दामा संलग्न गराउने फरार गेष्ट हाउस सञ्चालक १ वर्षपछि पक्राउ परेका छन् ।
बालिकालाई यौनधन्दामा संलग्न गराएको आरोपमा पक्राउ पुर्जी जारी भएका गेष्ट हाउस सञ्चालक २९ वर्षीय सुजन तामाङ १ वर्षपछि पक्राउ परेका हुन् ।
उनीमाथि टोखा महानगरपालिका– २६ को नयाँ बसपार्कस्थित सञ्चालित आफ्नो गेष्ट हाउसमा सरसफाईको काम दिन्छु भनेर राखेको बालिकालाई आर्थिक प्रलोभनमा पारी यौनजन्य गतिविधिमा लगाएको आरोप छ ।
सुजनले बालिकाको प्रयोग गर्दै प्रति ग्राहकसंग घण्टाको २ देखि ३ हजार र रातभरिको ६ हजारसम्म लिने गरेको खुलेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका सूचना अधिकारी गोतल मिश्रले बताए ।
साथै सुजनले ती बालिकालाई १ महिनासम्म गेष्ट हाउसबाट निस्कन नदिएको, बिरामी भएको बेलामा समेत यौनजन्य गतिविधिमा लगाएको तथा पारिश्रमिक समेत नदिएको पिडित पक्षको आरोप छ ।
पक्राउ तामाङलाई मानव बेचबिखन तथा ओसार पोसार मुद्दामा काठमाडौँ जिल्ला अदालत बुझाईएको थियो । उनीविरुद्व अदालतको आदेशअनुसार ५ दिनको थप म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



























































