पोखरा – जिल्ला अदालत पोखराले सहकारी ठगी प्रकरणमा पक्राउ परेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति, प्रतिनिधिसभा सदस्य तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरातमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
शुक्रबार साँझ काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले आईतबार जिल्ला अदालत पोखरामा उपस्थित गराएको थियो । शुक्रबार नै पोखरा पुर्याइए पनि शनिबार बिदा भएकाले आज अदालतमा पेश गरिएको हो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा भएको थुनछेक बहसपछि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । शुक्रबार पक्राउ परेकाले आइतबारसम्म ३ दिन बितिसकेकाले अब बुधबारसम्म अर्थात थप तीन दिन लामिछाने हिरासतमा रहने छन् ।
बहसका क्रममा सरकारी वकिल कार्यालयले ६ दिन म्याद थप गर्न माग गरेका थिए भने लामिछानेका वकिलहरुले हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नरहेको तर्क गरेका थिए ।
लामिछानेको पक्राउको विरोधमा रास्वपाका नेता कार्यकर्ताहरुले पोखरामा विरोध प्रदर्शन गरिरहेका छन् । विरोध प्रदर्शनले तनावको स्थिति सिर्जना हुने देखिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।





























































