कार्तिक – सेरेस ब्राण्डको एउटा विद्युतीय सवारीसाधन (ईभी)मा धुवाँ निस्किएपछि कम्पनीले मुख खोलेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै कम्पनीले प्राविधिक खराबीको कारण धुवाँ निस्किएको जनाएको छ ।
गाडीमा देखिने नियमित प्राविधिक समस्या अन्त समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको उक्त गाडीमा शर्ट सर्किट भएर धुवाँ डिस्चार्ज भएको कम्पनीको भनाई छ ।
‘उक्त गाडि विगतमा अनधिकृत सेवा केन्द्रहरू मार्फत् मर्मत सम्भार गरिएको हुन सक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।’ विज्ञप्तीमा भनिएको छ, ‘मर्मतका लागि कम्पनीको सर्भिस सेन्टरमा ल्याएका बखत शर्ट सर्किट हुँदा गाडीमा धुवाँ निस्किएको हो।’
सुरक्षा सतर्कताका निम्ति कम्पनीले सक्रियतापूर्वक स्थितिलाई नियन्त्रण लिएको हो । प्रारम्भिक अनुसन्धान अनुसार गाडीको ब्याट्री र मोटर दुवैमा क्षति नभएका कारण कुनै समस्या नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको कम्पनीले जानकारी दिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘विद्युतीय सवारी साधनहरू धेरै खाले सुरक्षा सुविधाहरूले सुसज्जित हुन्छन् र निश्चिन्त सवारी अनुभवका लागि हामी ग्राहकहरूलाई आफ्नो सवारी साधनको मर्मत सम्भार तोकिएकै सेवा केन्द्र मार्फत् गराउन हार्दिक आग्रह गर्दछौँ।’



























































