काठमाडौँ – सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थप १० दिन थुनामै रहने भएका छन् । जिल्ला अदालत कास्कीले लामिछानेलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई अनुमति दिएको हो ।
प्रहरीले लामिछानेलाई मंगलबार म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । रविलाई प्रहरीले गत कार्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो । त्यसयता उनीमाथि अनुसन्धान गर्न दोस्रोपटक म्याद थप गरिएको हो ।
उनको म्याद कार्तिक १४ गते सकिए पनि तिहार बिदाका कारण प्रहरीले मंगलबार मात्रै अदालतमा उपस्थित गराएको हो । थपिएको म्याद कार्तिक १५ गतेदेखि नै गणना हुने अदालतले जनाएको छ ।
यसअनुसार उनलाई कार्तिक २३ गतेसम्म थुनामा राख्न सकिनेछ । त्यसपछि प्रहरीले पुनः म्याद थप गराउन सक्नेछ ।