काठमाडौं – रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि चीन सरकारले नेपाललाई ३३ करोड ६ लाख रुपैयाँ बराबरको नगद सहयोग उपलब्ध गराएको छ।
आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले ३० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। सोही अवसरमा चिनियाँ रेडक्रसले उपलब्ध गराएको २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ६ लाख रुपैयाँ पनि हस्तान्तरण गरिएको छ।
सहयोग हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विपत्तिको सामना नेपाल र चीनले मिलेर गर्ने बताए। उनले नेपालको विपत्तिमा चीन सधैं साथमा रहने सन्देश चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको जानकारी दिए।
चीनले राहत सामग्री सहयोगलाई समेत तीव्रता दिएको छ। आइतबार दुईवटा चिनियाँ विमानमार्फत ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटलगायत सामग्री काठमाडौं ल्याइएको छ।
यस्तै, जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहित दक्ष जनशक्ति र उद्धार प्राविधिकहरू काठमाडौं आइसकेका छन्। बाढीका कारण चीनतर्फ रोकिएका नेपाली नागरिकलाई मुस्ताङको कोरला नाका हुँदै स्वदेश फर्काउने पहल भइरहेको पनि राजदूत माओमिङले जानकारी दिएका छन्।
नेपाल सरकारले माग गरेको ठूलो परिमाणको राहत सामग्री बोक्न सक्ने ड्रोन नेपाल ल्याउने तयारीसमेत तीव्र पारिएको चिनियाँ पक्षले जनाएको छ।































































